
२० माघ, काठमाडौँ-स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् ।
‘कोभिड –१९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय रहेको बताउँदै विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरीले आभार व्यक्त गरेका छन्। मन्त्री गिरीले बेलायतको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।
गिरिले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (एनएचएस–एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो।
राजदूत पोलिटले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन् । उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले २०२६ सम्ममा नेपाल विकसित देशका रुपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ–नयाँ कार्यक्रम ल्याउने जानकारी दिनुभयो।
