
१९ माघ, काठमाडौँ-आज अन्तर्राष्ट्रिय सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आजको आवश्यकता: सिमसारको पुर्नस्थापना भन्ने नाराका सहित आज विश्व सिमसार दिवस मनाईदै छ।
सिमसार दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल शुभकामना सन्देश दिनुभएको छ। शुभकामना सन्देश दिँदै उहाँले सिमसार संरक्षण गर्ने नेपालको आफ्नै मौलिक परम्परालाई सन् १९८८ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई विश्व रामसार सूचीमा सूचीकृत गरेर अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सिमसार क्षेत्रको जगेर्नामा सरकार क्रियाशील रहेको सर्वविदितै रहेको बताउनुभएको छ।
नेपालमा भएका तालतलैया, ढाव, कुवा, कुलो, खोलानाला गरी करिब पाँच दशमलव पाँच प्रतिशत क्षेत्रफल सिमसार क्षेत्र रहेको बताउँदै अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भएको प्रधामन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सिमसार क्षेत्र भएका पारिस्थितिकीय प्रणालीले कार्बन सञ्चिति गर्ने क्षमता बढी हुने र जलवायु अनुकूलन क्षमता समेत बढी हुने हुँदा यिनको संरक्षण, सम्बद्र्धन र दीगो सदुपयोग अति आवश्यक रहेकामा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, पानीको शुद्धिकरण र पुनःर्भरण, कार्बन सञ्चिति, खाद्यपदार्थको स्रोत सुनिश्चितता, जलवायु जोखिमसँग जुध्नसक्ने क्षमता, जीविकोपार्जनको स्रोत संरक्षण तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्न पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभएको छ।
