Fast Nepal News

‘अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपभोग’ बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

banner single news

काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले ‘अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपभोग’ बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । मंचले आयोडिन मन्थको अवसर पारेर फेव्रअरी १, बुधवार उक्त अन्तर्कृया कार्यक्रम गरेको हो ।

सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले विभागले आवधिक रुपमा प्रयोगशालाबाट आयोडिनयुक्त नुनको परिक्षण गर्दै आउने क्रममा साल्ट ट्रेडिङले कारोबार गर्ने नुनमा सरकारले तोकेअनुरुप सहि मात्रामा आयोडिन मिसाईएको पाईएको बताउनुभयो । साथै आयोडिनयुक्त नुनको सम्बन्धमा खाद्य गुणस्तर विभागले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि काम गर्दै आएको जनाउनुहुँदै आयोडिन मन्थ जनचेतना जगाउन फलदायी रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रभावकारी भूमिका खेल्दै आएको आफुले पाएको उल्लेख गर्नुहुँदै राजनीतिक पहुँचका आधारमा केही व्यवसायीले अवैध रुपमा नुनको कारोबार गर्दै आएकाको अनुचित व्यापारिक कृयाकलापलाई नियन्त्रण गर्न सरकार चुकिरहेकोले उपभोक्ताहरु मारमा पिल्सिनु परेको धारणा राख्नु भयो ।

साल्ट ट्रेडिङका नायब महाप्रबन्धक कुमार राजभण्डारीले आयोडिनको कमीबाट हुने विकृतिलाई रोक्न अखाद्य नुन चुनौतीका रुपमा रहेको उल्लेख गर्नुहुँदै अनलाईन प्लेटफर्म र सपिङ मल लगायतका आउटलेटबाट हुँदै आएका अवान्छित गतिविधिलाई रोक्न सरकार, उपभोक्ता अधिकारकर्मी, संचारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले विभागले कानुनी व्यवस्था अनुरुप अनुगमनको काम नियमित रुपमा गर्दै आएको उल्लेख गर्नुहुँदै अखाद्य नुनको कारोबार रोक्न विभाग प्रयत्नशिल रहने बताउनुभयो ।

Inside Article Ads

स्वास्थ्य मन्त्रालयकी जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले साल्ट आयोडाइजेसन कार्यक्रम अन्तर्गत दुई बालबालिकाको लोगो अंकित नुनको बिक्री वितरण पस्चात नेपालमा गलगाडको समस्या निराकरण भैसकेको सन्दर्भ उल्लेख गर्नुहुँदै यस उपलब्धीलाई जोगाइ राख्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयको तत्वावधानमा प्रत्येक बर्ष फेव्रअरी महिना अवधिमा मनाईदै आईएको आयोडिन मन्थ कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले साल्ट ट्रेडिङले बाहेक अरुले नेपालभित्र नुन बिक्री गर्न नपाउने व्यवस्था हुँदाहुँदै राजनीतिक पहुँच र व्यापारिक स्वार्थका आधारमा अवैध रुपमा नुनको कारोबार हुँदै आएको उल्लेख गर्नुहुँदै नेपाल भित्र अखाद्य नुन पैठारी गर्न हुँदैन भन्ने २०५५ मा आएको आयोडिनयुक्त नुन सम्बन्धी ऐनले प्रष्ट गरेकामा सोको धज्जी उडाएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचकी केन्द्रिय सदस्य एवम् खाद्य विज्ञ सोबिता श्रेष्ठले नुनमा मिसाईने आयोडिन भण्डारण र पकाउने क्रममा उडेर जाने भएकाले आयोडिन खाद्य नियम अनुसार नै प्याकेट नुनमा आयोडिनको मात्रा ५० पिपिएम र क्लोराइडको मात्रा ९६ प्रतिशत भन्दा कम हुन नहुने रहेको जनाउनुहुँदै बेलाबेलामा प्याकेट नुनमा बढी नुन मिसाईएको भन्ने हल्ला चलाईने गरेकोले त्यस्तो कुराको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.