Fast Nepal News

धनकुटा महोत्सवस्थलमा घाइते भएकामध्ये १७ जनालाई धरान लगियो

banner single news

१५ माघ,धनकुटा — धनकुटा महोत्सवस्थलमा ठेलमठेल हुँदा सख्त घाइते भएकामध्ये १७ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य तीन जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

‘धनकुटा घटनामा घाइतेको संख्या २० मध्ये १७ जना जना गम्भीर छन् । उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरान लगिएको छ,’ प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले भने, ‘तीन जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीरमध्ये बालबालिकाको संख्या पनि उल्लेख्य छ ।’

भीडमा परी अंशु सुवेदी, विसन तामाङ, उदीप राई, आर्यन राई, नन्दकुमार तामाङ, विनिता लिम्बु, प्रवेश राई, शान्ता योगी, सुनील लिम्बु, श्रेया कटवाल, प्रकट श्रेष्ठ, कुसुम श्रेष्ठ, प्रेम दाहाललगायत घाइते भएका छन् ।

महोत्सवस्थलमा अनियन्त्रित भीडका कारण शनिबार बेलुकी साढे ८ बजे ठेलमठेल हुँदा २० जना घाइते भएका हुन् । धनकुटा-५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि घटना भएको प्रहरीले जनाएको छ ।

Inside Article Ads

गत माघ ६ देखि आयोजित महोत्सवको नवौं दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुनु केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।

दुई तर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा ठेलमठेल हुँदा घाइते भएको जनाइएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.