
१३ माघ, काठमाडौँ- शहीद धर्मभक्त माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा आज स्मृतिसभाको आयोजना गरी स्मरण गरिएको छ । काठमाडौँ महानगरपालिका मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो ।
शहीद माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाका उपप्रमुख सुनिता डङ्गोलले, प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। स्मृतिसभामा कामपा–७ का अध्यक्ष बिमलकुमार होडाले शहीदहरूले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
शहीदहरूले नागरिकको स्वतन्त्रताबाहेक अरू केही पनि अपेक्षा नगरेको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले धारणा व्यक्त गर्नुभयो। काठमाडौँ महानगरपालिकाको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रम शहीद धर्मभक्त माथेमाको स्मरण गर्दै भव्यताका साथ सम्पन्न गरेको छ।
