
२४ कार्तिक, काठमाडौँ- आइसल्यान्ड भम्रणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका शीर्ष महिला नेतृहरुसँग शिष्टाचार भेटघाट गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले आइसल्यान्डका प्रधानमन्त्री एवम् विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गर्नुभयो। भेटमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान गर्ने समेत उहाँले अवसर प्राप्त गर्नुभएको छ।
त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसद्का पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषद्का महासचिव लाउरा लिजउड र यूएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गरी विचार आदानप्रदान कार्यक्रममा सरिक हुनुभएको छ।
त्यस्तै, आइसल्यान्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको छ। सञ्चारविज्ञ टीका ढकालको अनुसार विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ को कार्यक्रममा सहभागी हुन दुई दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मङ्गलवार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ विभिन्न कार्यक्रममा सहभागी भएर यही कात्तिक २६ गते शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
