Fast Nepal News

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

banner single news

कात्तिक १८,काठमाडौ

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन
आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम
भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार
थपलियालाई सवारी साधन हस्तान्तरण गर्नुभयो ।
सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त
माननीय श्री दिनेशकुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय
राजदूत श्री नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र भारतबीच लामो समयदेखि
रहेको मित्रताबारे उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय
सहयोग र सहकार्यमा आधारित भएको बताउनुभयो । आवधिक निर्वाचन लोकतान्त्रिक
प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उहाँले भारत सरकारले विभिन्न
समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद
ज्ञापन गर्नुभयो ।
समारोहमा नेपालका लागि महामहिम भारतीय राजदूत श्री नवीन श्रीवास्तवले नेपाल सरकार र
नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताउनुभयो
। नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि
खुसीको कुरा भएको उल्लेख गर्दै उहाँले भारत सरकारले दिएको सहयोगले निर्वाचन
आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा स्वागत मन्तब्य व्यक्त गर्नुहुँदै आयोगका प्रवक्ता एवं सहसचिव श्री
शालिग्राम शर्मा पौडेलले प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने
बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न महत्वपूर्ण निर्वाचनमा भारत सरकारले सहयोग गर्दै
आएकोसमेत स्मरण गर्नुभयो ।
उक्त समारोहमा निर्वाचन आयोगका आयुक्तहरू माननीय रामप्रसाद भण्डारी,
माननीय डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव श्री गोकर्णमणि दुवाडीसमेतको
उपस्थिति थियो ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.