
६ कार्तिक, काठमाडौँ -फुटपाथ पसलले बटुवालाई बाटोमा हिड्न असहज भएको भन्दै फुटपाथ हटाएका ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न अनुमति दिएको छ। तिहारलाई लक्षित फुटपाथ पसल हटाएको महानगरले स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर फुटपाथमा आजदेखि तिहारभरि पसल राख्न दिने महानगरपालिकाले निर्णय गरेको हो।यसैगरी लगनखेल, मंगलबजार क्षेत्रमा फुटपाथ पसल राख्न दिने निर्णय गरेको’ ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले जानकारी दिनुभयो।

पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको फुटपाथमा पसल राख्दा आवतजावतमा असहजता भए पनि तिहारको समयमा गाडी कम चल्ने भएकाले यस्तो निर्णय गरिएको ललितपुर महानगरका नगर प्रहरीप्रमुख सीताराम हाथेछुले जानकारी दिनुभयो। ‘तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएका हौं,’ उनले भने,‘मंगलबजारदेखि लगनखेलसम्म बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म चारपाङ्ग्रे निषेध गरेर व्यवस्थित रूपमा पसल राख्न दिने निर्णय गरेको हो।
