Fast Nepal News

वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गिय नेता उज्जवल थापा निवास पुगे युवा नेता पौडेल

banner single news

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गिय नेता उज्जवल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गिय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशिर्वाद लिएका छन्। उनले मातापितासँग स्वर्गिय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई आफूले अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।

सो क्रममा थापाकी माता शान्ताले नेता पौडेललाई जीतको शुभकामना दिएकी थिइन्। नेता पौडेलले यसअघि चर्चित अभिनेता हरिवंश आचार्यको बूढानीलकण्ठस्थित निवास पुगेर आशिर्वाद लिएका थिए। कात्तिक २ गते मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। ‘बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’ ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो। काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्।

Inside Article Ads

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.