
प्रकाश कपाली।
नेपालीहरुको महान चाड दशैं,तिहार र छठ पर्वको उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना व्यक्त गर्नुभएको छ। दशैंको शुभकामना व्यक्त गर्दै समाजमा सत्य साबित गर्ने र सत्य जागृत गरी दानवीय तात्पर्य नाश गर्ने दशैंको आदर्श रहेको उहाँको भनाई छ। दशैं पर्व प्रकृतिको चिन्तन र अध्यात्मलाई ग्रहण गर्ने पर्वको रूपमा रहेको विषयमा उहाँले शुभकामना व्यक्त गर्नुभयो।यस महान पर्वले शान्ती, सदाचार, आपसी सद्भाव कायम गर्ने विषयमा पनि पूर्वराजा शाहले आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
दशैंको शुभकामना व्यक्त गर्दै देशमा भएको समसामयीक र राजनीति विषयमा उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो। बहुदलीय शासन व्यवस्थामा गएको मुलुकमा स्थापित राजनीतिक दलले जनताको ईच्छा अनुरुप काम गर्नुपर्ने बताउनुहुँदै नेपालमा राजनीतिक दलले जनताको ईच्छा विपरीत काम गरेको धारणा राख्नुभयो। जनताको ईच्छा विपरीत काम गर्नुले जनतामा राजनीतिप्रति वितृष्णा उजागर भएको धारणा समेत पूर्व राजा शाहले प्रकट गर्नुभयो। दलहरु जनताप्रति उत्तरदायी नहुनुको कारण सरकारको अंग व्यबस्थापिका, कार्यपालिका, न्यायपालिकामा विकृति र विसङ्गति आन्तरिक कलह छाएको पनि उहाँले बताउनुभयो। देशको मौलिक मूल्य मान्यता र संस्कृतिको दिनप्रतिदिन हनन हुँदै गएको हुनाले मौलिक मूल्य मान्यता र सनातन धर्मको संरक्षण गर्न एकजुट भई लाग्न पनि सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उहाँले आग्रह गर्नुभयो।
मुलुकको भविष्यप्रति कुनै भरोसा नभएको भन्दै अहिले मुलुकले सही पात्र खोजिरहेको धारणा व्यक्त गर्नुभयो। नेपालका युवायुवतीहरु पढाई र रोजगारीको सिलसिलामा विदेश गइरहेको विषयमा चरम चिन्ताजनक भावना व्यक्त गर्नुहुदै नेपालको परराष्ट्रनीति असन्तुलन रहनु र व्याप्त भष्टाचारले मुलुक प्रथभष्ट हुनुले देश अन्धकारमय र अशान्तिपूर्ण स्थितिको चुनौती सामना गर्दै अघि बढिरहेको धारणा व्यक्त गर्नुभयो। राष्ट्र, प्रजातन्त्र र मौलिक एकताको रक्षा गर्दै नवदुर्गा भवानीले सबैलाई प्रेरणा प्रदान गरुन भनी पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामनासँगै देशको समसामयिक विषयमा आफ्नो महत्वपूर्ण धारणा राख्नुभयो।
