Fast Nepal News

प्रतिनिधिसभामा सांसदहरूले भने, ‘यो अन्तिम बैठक हो’

banner single news

काठमाडौँ – ३० भदौ २०७९

काठमाडौँ, प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताइन । सांसद राजेन्द्रकुमार केसीले वर्तमान संसद् बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसद्को कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल सकिन लागे पनि अछामको शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासमा सरकारले विशेष ध्यान दिुनपर्नेमा जोड दिए । सांसद महेन्द्रकुमारी लिम्बूले संसद्मा बुधबारको बैठक आफ्नो अन्तिम भएको उल्लेख गर्दै आगामी मङ्सिर ४ गते गठबन्धन सरकारले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गरिन ।

सांसद यशोदा गुरुङ सुवेदीले आगामी असोज १ गते राति १२ बजेदेखि हालको प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने भनी निर्वाचन आयोगले पठाएको पत्रका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराइन । साथै, उनले राष्ट्रिय सहमति नबनेको अवस्थामा नागरिकताविहीनलाई नागरिता दिलाउनका लागि भए पनि राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्ने बताइएन । सांसद रामबहादुर विष्टले डेङ्गुका कारण धेरै व्यक्ति प्रभावित भए पनि सरकारले नियन्त्रण गर्न उचित ध्यान दिन नसकेको आरोप लगाए । सांसद महेश बस्नेतले डेङ्गुबाट धेरै व्यक्ति प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद बिमला विकले बर्दियामा यही भदौ २६ गते ६१ वर्षीय झठारु चौधरीको भैँसी चराउने क्रममा निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट मृत्यु भएकामा मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन ।

Inside Article Ads

सांसद भीमसेनदास प्रधानले संसद्को यो कार्यकालमा संसद्मा बस्ने र नबस्नेको सही मूल्याङ्कन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । सांसद मनकुमारी जिसीले बुधबार राष्ट्रिय बाल दिवस मनाइरहँदा महिनौँदेखि शिक्षक आन्दोलनमा रहेका र स्थायी पदपूर्तिलगायत मागको सम्बोधन नभएसम्म बाल विकासदेखि उच्च माविसम्म गुणस्तरी शिक्षा सम्भव नभएको बताइन । सांसद यज्ञराज सुनुवारले महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीशले उठाएको विषयमा गम्भीर भए पनि त्यस विषयमा सरकार र समितिका सदस्यसमेत मौन बस्दा आम जनतामाझ अझ प्रश्न उठेको बताए । सांसद राजबहादुर बुढाले चाडपर्व नजिकिँदै जाँदा धेरैले यात्रा गर्नुपर्ने समयमा राजमार्गलगायत गाउँका सडक सुधार गर्न जरुरी भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै चीनसँग सिमाना खोल्ने विषयमा ठोस पहल गर्न सरकारसँग आग्रह गरे । सांसद रेखा शर्माले सङ्क्रमणकालीन न्याय अहिलेसम्म टुङ्गिन नसकेको उल्लेख गर्दै मेलमिलाप दिशामा देशलाई अगाडि बढाउने राज्यको काम भएको हुँदा समाजमा मेलमिलाप स्थापना गर्ने गरी विधेयक अगाडि बढाउनुपर्ने बताइन ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.