Fast Nepal News

एमालेको चुनावी अभियान शुरु, एमालेले कसैसँग गठबन्धन गर्दैैन : अध्यक्ष ओली

banner single news

काठमाडौं – २८ भदौ २०७९

काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी अभियान थालेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सामाजिक सञ्जालमार्फत् चुनावको अभियान थालेका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउने एक साताअघि सोमबार ओलीले आफ्नो पार्टी सरकारमा गएपछि गर्ने कामको तालिका बनाइरहेको बताएका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउने कृषि क्षेत्रको विकासका लागि सुझाव मागेको बताएका छन् । साथै उनले अन्य विविध क्षेत्रको लागि पनि सुझाव माग्ने र सुझाव पाउने अपेक्षा गरेको बताएका ओलीले एमाले सरकारमा गएपछि गर्ने कामको मसिनोगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्ने तयारी गरेको उल्लेख गरेका छन् ।

यसका लागि आवश्यक सुझाव र साथको अपेक्षा गरेको ओलीको भनाइ छ । एमालेले कसैसँग गठबन्धन गर्दैैन ः अध्यक्ष ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन् । नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत् जनसभामा उनले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने जिकीर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘एमाले कसैसँग गठबन्धन गर्दैन ।’ एमाले श्रमिक, सुकुम्बासी र भूमिहीन र मधेसीहरूकै पार्टी भएको दाबी गर्दै अध्यक्ष ओलीले एमाले पार्टी मधेसीको पार्टी हो, पहाडिया र हिमालीलगायत आम नेपालीको पार्टी भएको जिकिरसमेत गरे ।

Inside Article Ads

उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत गरे । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भने, ‘गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ ।’ नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी मात्र संसद्मा विधेयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पारे ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.