
काठमाडौं – २३ भदौ २०७९
काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भन्नुभयो ।
उहाँले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने राससलाई बताउनुभयो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
आज पक्राउ अनुमति आएन
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । प्रहरी वृत गौशालाले बुधवार जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमतिका लागी पत्राचार गरेको हो । तर, अदालतबाट बुधवार पुर्जी जारी हुन सकेन् । अदालतको प्रक्रियाका कारण बुधवार पक्राउ अनुमती जारी नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
‘आज पक्राउ अनुमती लिन भ्याइनएन’ जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्–‘अदालती प्रक्रियाका कारण आज ढिला भयो ।’ आरोपी पक्राउ गर्न न्यायाधीशले पक्राउ अनुमती दिनुपर्छ । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्ट स्थित ‘काठमाडौं इन’ होटलमा लगेर बलात्कार गरेको जाहेरी दर्ता भएको छ ।
