
कैलाली – २२ भदौ २०७९
कैलाली, सत्तारुढ गठबन्धनको सिट बाँडफाँटको गाँठो थप कसिलो बन्दै गएको छ । सिट बाँडफाँट मंगलबार टुंग्याउने बताइएपनि बनेको ११ सदस्यीय कार्यदलले मंगलबार पनि आफ्नो जिम्मेवारी पुरा गर्न सकेन । मंगलबारको बैठकले शीर्ष नेतृत्वबाट पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने तयारी थियो । तर, बालुवाटारमा बसेको बैठकले बुधबार पुन अर्को बैठक बसेर प्रतिवेदन तयार पारेर शिर्ष नेतालाई बुझाउने सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर काकीले जानकारी दिए ।
उनका अनुसार कार्यदल शिर्ष नेतृत्वले सुम्पिएको जिम्मेवारीअनुसार प्रतिवेदन लिपिबद्ध गर्न बाँकी रहेको छ । ‘जिम्मेवारीको अनुसार कार्यसम्पादनको नजिक पुगेका छौं । बुधबार ५ बजे बैठक बसेर शिर्षस्त नेतालाई प्रतिवेदन दिन्छौं । करिब करिब सहमतिको नजिकमा पुगेका छौं र यसलाई लिपिबद्ध गर्न बाँकी छ । त्यसलाई लिपिबद्ध गरेर नेतृत्वलाई दिनेछौ’, कार्कीको भनाइ छ । उनले प्रतिनिधि सभाको कार्यसम्पन्न गरिसकेपछि प्रदेश सभामा सहमति खोज्न सहज हुने बताएपनि के कति सहमति जुट्यो भन्ने खुलाएनन् ।
सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका हुन् । अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, “सिट बाँडफाँटमा समस्या हुँदैन ।” “नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ” उनले भने,“दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।”
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उहाँले बताए । संसद् लम्ब्याउने कुरा पनि आइरहेको छ, भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने ‘‘संसद् लम्ब्याउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ, अस्ति हामीले गठबन्धनको बैठकमा नै एक दिन पनि यताउता गर्न हुँदैन र मङ्सिर ४ मा नै निर्वाचन हुन्छ, मनोनयनपछि संसद् नरहने हामीले भनी सकेका छौँ । एक फरक प्रसगङ्मा उनले आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नं ३ बाटै उठ्ने स्पष्ट पारे ।
सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि मंगलबार यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकारात्मकरूपमा अघि बढेको र छिट्टै टुङ्गोमा पुग्ने उल्लेख गरे ।
मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको उल्लेख गर्दै मन्त्री कार्कीले हिजो संविधान र लोकतन्त्र जोगाउनकै लागि गठबन्धन बनेको बताए । “गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ । गठबन्धन कसैका विरुद्ध बनेको होइन”, उनले भने ।
आगामी मङ्सिर ४ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । फरक प्रसङ्गमा उनले अबको १० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन तथा दक्षिण एसियाकै धनी राष्ट्र बनाउन आफूहरूले काम गरिरहेको उल्लेख गरे ।
गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे । पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाण्डौमा मङ्गलवारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे ।
उनले भने, ‘तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँट गर्न चाहिरहेका छौँ । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारेमा पनि प्रश्न उठेको छ । हामी सम्भव तुल्याउन चाहिरहेका छौँ ।’ अध्यक्ष नेपालले आउँदो चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिङ्गो पार्टी पंत्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्ती–बस्तीमा पुगेर सङ्गठन निर्माण र परिचालनको काममा खटिन पनि सचेत गराए । कार्यक्रममा बोल्दै उनले दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिए ।
एकीकरण र ध्रुवकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल : डा. भट्टराई
नेपाल समाजवादी पार्टी कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. भट्टराईले नेकपा माओवादी केन्द्रसँग एकीकरण र ध्रुवीकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा. भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । पार्टीका अध्यक्ष डा. भट्टराई दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभर दौड्धुपमा क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका हुन् ।
डा. भट्टराईले पार्टीले दुई वटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताए । ‘मसँगै सहअध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेश तिर हिँडेका छौं । अन्य साथीहरू पूर्व तिरका हिँडेका छन् । हामी चुनावी दौडान मै कर्णाली पुगेका हौं,’ उनले भने । यसै क्रममा कर्णाली पुगेका डा. भट्टराईले नेपालको राजनीतिमा आफूले बनाएको निर्वाचन प्रणालीमा विभिन्न कारणले अस्थिरता र तरलता भए पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको बताए । केही प्राविधिक कारणले मात्रै नयाँ पार्टी गठन गरेर यो अवस्थामा पुगेको उनले बताए । ‘हामीले लक्ष्य फेरेका छैनौं, समावेशिता, संघीयता, सुशासन सम्वृद्धिसहतिको समाजवादको लक्ष्य हाम्रो पार्टीको हो । हामीले नयाँ शक्तिदेखि आज नेपाल समाजवादीमा आउँदासम्म पनि लक्ष्य उहीँ नै छ । पार्टीका नाम विभिन्न पक्षसँग धुव्रिकरण गर्ने क्रममा फेरिए पनि लक्ष्य फेरिएका छैनन्,’ उनले भने ।
