
काठमाडौं – १७ भदौ २०७९
काठमाडौं, पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा बिहीबार पनि गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि बिहीबार कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि संख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनले विश्वास व्यक्त गरे । यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।
यता गठबन्धनका एक नेताले भने पटक–पटकको छलफल र वैठकपछि सत्तारुढ गठबन्धन दलहरु सिट बाँडफाँटको सहमति नजिक पुगेका बताए । पाँच दलले प्रत्यक्षतर्फका १६५ सिट बाँडफाँटमा लगभग सहमति गरेको उनले जानकारी दिए । प्रारम्भिक सहमति भए पनि पूर्ण खाका सार्वजनिक भइसकेको छैन । शीर्ष नेतातहरुसहित बिहीबार बिहान ११ बजेदेखि बसेको कार्यदलको रातिसम्म चलेको थियो । स्रोतका अनुसार यो बैठकमा नेपाली कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा एक सिट लिने लगभग समझदारी जुटेको छ । एक नेताले दिएको जानकारी अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहमति जुटाएको सिट संख्यालाई कार्यदलको आगामी बैठकले अन्तिम रुप दिनेछ ।
‘सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको छ’, कार्यदलका एक सदस्यले भने, ‘उसले ८५ देखि ८६ सिट लिन्छ । माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ र जसपा १२ देखि १३ सिट लिन्छ । राष्ट्रिय जनमोर्चालाई १ सिट दिनेगरी समझदारी बनेको छ ।’ यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि छ । शीर्ष नेताहरुले संख्या टुंगो लगाएर कार्यदललाई जिम्मा दिएका छन् । ‘हामीले सय सिट लिएर ५० सिट जित्नुभन्दा ८५ सिट लिएर कम्तीमा ८० सिट जित्नु राम्रो हो भनेर प्रधानमन्त्रीले कार्यदलमा रहेका नेताहरुलाई सुझाव दिनुभएको थियो’, बालुवाटार स्रोतले भन्यो, ’त्यहीअनुसार कार्यदलमा छलफल भएर सहमति जुटाउन लागिएको हो ।’ सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्नेछ । निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने ती नेताले बताए ।
