
पाल्पा ─ ०१ साउन २०७९
पाल्पा, सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालमा पनि दुई दलीय व्यवस्थाको अभ्यासन भइरहेको बताउनुभएको छ । पत्रकार महासंघ पाल्पा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले विगतमा एक्लै चुनाव लड्ने अभ्यासमा परिवर्तन हुन थालेको बताउनुभयो । उहाँले ठूला देशहरुमा रहेको दुई दलीय व्यवस्थालाई नेपालका राजनीतिक दलहरुले पनि अभ्यासमा ल्याएको उल्लेख गर्नुभयो । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर चुनाव लडेका थिए ।
आगामी निर्वाचनमा हालको सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनको कसरतमा छन् । चौधरीले आफ्नो अस्तित्व रक्षाका लागि पनि मिलेर चुनावमा जानुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले अझै ५–१० वर्ष गठबन्धनको अभ्यास हुने अनुमानसमेत गर्नुभयो । एक अर्को प्रसंगमा मन्त्री चौधरीले पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने बताउनुभयो ।
