
काठमाडौँ ─ २६ साउन २०७९
काठमाडौँ, ,प्रमुख राजनीति दलहरुले चुनावी तयारी तीव्र बनाएका छन् । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले विभिन्न ढंले तयारी अघि बढाएका हुन् । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक प्रक्रिया र तयारी शुरु गरिसकेको छ । यस्तोमा दलहरुले आगमी निर्वाचनलाई लक्ष्य गरेर विभिन्न कार्यक्रम तय गरेका छन् ।
काँग्रेसको अभिमुखीकरण नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको छ । बुधबार विहान पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको हो । काँग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ३० र ३१ गते पालिका प्रमुख र उपप्रमुखका लागि ललितपुरमा दुई दिन अभिमुखीकरण दिँदै छ । काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ ।
कार्यक्रमको पहिलो दिन साउन ३० गते वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ । यस्तै दोस्रो दिन ३१ गते उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् । महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
प्रशिक्षण चलाउँदै एमाले
नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ ।
पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, बुधबारको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो । विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिमरुप दिँदैछ ।
एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति तयार
नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ । बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरलाई दिइएको छ ।
निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानुन विभागलाई दिइएको छ । पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा विजय पौडेललाई दिने निर्णय गरेको छ । त्यस्तै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव बेदुराम भुसाललाई जिम्मा दिन निर्णय गरेको छ ।
