
काठमाडौ क्षेत्र नं ४ मा सन्तोष प्रधान चौधरीको उम्मेदवारी
नेपाललाई वैदिक सनातन धर्म निर्देशित समाजवादी राष्ट्र बनाउने उद्देश्यका साथ विगत ४ वर्ष देखि विभिन्न अभियान मार्फत संघर्ष गर्दै आएको एक युवा हुनुका नाताले त्यसलाई कार्यान्वयन गर्ने लक्ष्य राखेर आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्रनम्बर ४ का नागरिकको निर्वाचित सेवक बन्ने उद्देश्यका साथ यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।
पछिल्लो समय नेपालमा वैकल्पिक राजनीतिको अभियान शुरुवात गर्ने विवेकशील नेपाली दलसँग रहेर मैले २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा यही क्षेत्रलाई रोजेको थिएँ । मेरो ब्रह्मले सधै यसै क्षेत्रको जनसेवक बन्ने ध्येय राखेकोले देशको बिग्रँदो सामाजिक अर्थराजनीतिले त्यति बेलाको उद्देश्य परिपूर्ति गर्न अहिले मैले फेरि यही क्षेत्र रोजेको जानकारी गराउन चाहन्छु ।
जसरी वेदान्तको सूत्रले हरेक जीव परम्ब्रम्हको अंश हो भन्छ, त्यसैगरी लोकतन्त्रमा राज्यसत्ता निर्माणमा प्रत्येक नागरिकको मतको निर्णायक अंश रहन्छ । धर्मनिर्देशित, पक्षपातबिहीन, शोषणमुक्त, सुसंस्कृत, सुशिक्षित, सुरक्षित, सम्पन्न, सेवापरायण, स्वस्थ, तथा सर्वहीतप्रद व्यक्ति तथा समाजको संरचना निर्माण गर्नका लागि आफ्नो सार्वभौम मत मार्फत प्रतिनिधि चुन्ने अधिकारको पक्षपोषण नै ‘सनातन राजनीति’को मूल उद्देश्य हो । राजनीतिको त्यही पावन उद्देश्य प्राप्तिलाई अर्जुनदृष्टिमा राखेर मैले यो बाटो रोजेको छु ।
शताब्दिऔं देखि अविछिन्न स्वाधीन, सार्वभौम, सनातनी व्यवस्था रही आएको राष्ट्र नेपालमा विगत केही दशक यता विदेशी प्रभुत्ववादले निम्त्याएको विकृत राजनीति हाबी भएको छ । यसलाई बदल्न कम चुनौतीपूर्ण छैन । गैर धार्मिक कट्टरपन्थ र धार्मिक अन्धता जस्ता दुवै अतिवादसँग संघर्ष गरेर नेपाललाई शान्ति, सम्वृद्धि र स्थीरताको बाटोमा लैजान आइपर्ने चुनौतीको सामना एक्लै गर्न सहज छैन ।
यो यात्रामा यहाँहरू सम्पूर्णको साथ, सहयोग र आशिर्बाद आवश्यक रहेको अपील गर्दै क्षेत्र नम्बर ४ को उम्मेदवारका रूपमा निम्न लिखित एजेण्डामा प्रतिबद्ध रहेको ब्यहोरा प्रस्तुत गर्न चाहन्छु ।
प्रतिबद्धतापत्र:
१) शासनव्यवस्था: वैदिक सनातन धर्म निर्देशित समाजवादी शासन व्यवस्था, सांस्कृतिक राजसंस्थासहितको शंकराचार्यमण्डल निर्देशित प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति ।
२) संघियता: स्थानीय तहको सबलीकरणसंगै प्रदेशसंरचनाको खारेजी गर्ने ।
३) अर्थतन्त्र: उन्नत समाजवाद, राज्यले समस्त नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको पूर्ण जिम्मेवारी लिने।
४) सुशासन: सबै प्रकारका भ्रस्ट्राचार प्रकरणमा छानबिन, कारवाही तथा नियन्त्रण गरि सुशासन कायम गर्ने ।
५) पररास्ट्रनीति: पंचशील र असंलग्न परराष्ट्रनीतिलाई पूर्णत कार्यन्वयन गर्ने साथै MCC/SPP जस्ता सम्झौताको खारेजी ।साथै नजीकका छिमेकीहरु भारत र चिनसंग समदुरी सहितको सम्मानपूर्ण सौहार्द सम्बन्ध कायम गर्ने।
६) उर्जा: अल्पकालीन रुपमा अन्तरराष्ट्रिय बजारमूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने, साथै आगामी १० बर्ष भित्र राष्ट्रमा प्रयोग हुने उर्जा सबै हरित उर्जा (क्लिन एण्ड ग्रीन इनर्जी) हुने ।
७) जनजिवीका/विकास: ३ बर्ष भित्रमा कपन, बुढानिलकण्ठ क्षेत्रमा बर्खेबाढी पूर्णत: नियन्त्रण गर्ने ।साथै सोहि अवधि भित्र यस क्षेत्रका सम्पूर्ण शहरी तथा अर्ध-शहरी क्षेत्रमा राष्ट्रिय/अन्तर-राष्ट्रिय मापदण्ड अनुसार पर्याप्त मात्रामा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने ।
८) वातावरण/पर्यावरण: ५ बर्ष भित्र यस क्षेत्रका सबै खाली जमिनहरु तथा सडक किनारमा (सबै सरोकारवालाहरुसंग छलफल गरि) जति मत दाता छन्, त्यति नै वा सो भन्दा बढी संख्यामा ब्यबस्थित तरिकाले वृक्षारोपण गर्ने ।
९) धर्म/संस्कृति: काठमाडौँ क्षेत्र न. ४ मा रहेका सम्पूर्ण धार्मिक तिर्थस्थल, धाम र गुठीहरुको ब्यबस्थापन र संरक्षण गर्ने । संस्कृत भाषाको बिस्तार र वैदिक ग्रन्थहरुको अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरि आर्य एवं वैदिक संस्कृति अवलम्वन गर्न प्रेरित गर्ने ।
प्रतिज्ञा: सुविधा भोगी प्रवृत्ति त्याग गरि स्वच्छ छबि कायम गर्दै नागरिक, समाज र रास्ट्रको सेवा गर्ने ।
