
काठमाडौं ─ २८ असार २०७९
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन् । ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गरे । ‘बजेट निर्माणमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ । कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको उनले बताए ।
ओलीले भने, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तिमा श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ ।’
ओलीले आफू प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गर्नुपरेको बताए् । कार्यक्रममा भ्रष्टाचार, अनियमितताका विषयमा एमाले न्यायिक बाटोमा जान्छ कि जाँदैन भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमाले मुद्दा मामिलाप्रति फ्रस्टेट भएको बताए । आफू प्रधानमन्त्री हुँदा सानातिना विषयमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दायरा हुँदा जवाफ दिँदा निकै हैरानी खेपेको उनले गुनासो गरे । सो क्रममा करिब ५६ हजारपटक हस्ताक्षर गरेको र हस्ताक्षर गर्ने क्रममा औँलामा ठेला नै उठेको ओलीको भनाइ छ । ‘एउटा मुद्दा कम्तीमा छोटो लेख्दा पनि १० पेजको प्रतिवाद पत्र हुन्थ्यो । एउटा मुद्दा १० पेजको तीनप्रति प्रतिवाद पत्र लेख्नुपर्छ । । तीनप्रतिमै प्रधानमन्त्रीले सही गर्नुपर्छ, ३० पेज त भयो ।
३० पेजको शिर र पिँधमा सही गर्नुपर्छ । छोटो भयो भने ६० वटामा सही गर्नुपर्छ,’ आफू प्रधानमन्त्री हुँदा सरकारलाई विपक्षी बनाएर दायर भएको रिटको जवाफ दिँदाको अवस्थाबारे जानकारी दिँदै ओलीले भने, ‘मैलै मोटामोटी हिसाब गर्दा ५५÷५६ हजार सिग्नेचर मैले प्रधानमन्त्री हुँदा मुद्दाको मामलामा गर्नुप¥यो, यहाँनिर (हातको औँला देखाउँदै) ठेला उठ्यो । कम्युटरले सिग्नेचर गर्दै, हातलै गर्नुप¥यो । गठबन्धनबारे ओलीको टिप्पणी ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए । बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए । एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ । यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ, बिहे चैँ नक्कली हुन्छ,’ ओलीले भने, ‘त्यस कारण साँचो डिभोर्स गर्नका लागि, नक्कली बिहे गर्न एमाले हत्तारिँदैन ।’ देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघि बढ्ने बताए ।
