
कोलम्बो ─ २७ असार २०७९
कोलम्बो, दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् । तर राष्ट्रपति आफैं देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ । दुबै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् । ‘हाम्रो संघर्ष सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी संघर्ष छोड्ने छैनौँ ।’ आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउछन् ।
श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत
श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए ।‘हामी अन्तरिम समयका लागि सबै दलहरूको सहभागितामा मिलिजुली सरकार गठन गर्न सैद्धान्तिक रूपमा सहमत छौं’, सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना पार्टी (सएलपीपी बाट अलग्गिएको समूहका नेता विमल वीरावांसाले भने ।
उनले अगाडि थपे, ‘यो सरकार सबै दलको प्रतिनिधित्व हुने सरकार हुनेछ । ’
सोही समूहका अर्का नेता वासुदेव नानायकाराले सरकार गठनका लागि जुलाई १३ मा राजापाक्षेको राजीनामा पर्खनु नपर्ने बताए । राष्ट्रपति राजापाक्षेले शनिबार संसदका सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् । प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ ।-
एजेन्सी
