Fast Nepal News

निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन प्रधानमन्त्रीको निर्देशन

banner single news

निजगढ ─ १९ असार २०७९

निजगढ, प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरूको टोलीले निजगढ विमानस्थलको आज स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिनुभएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाका साथै गठबन्धन दलका शीर्ष नेताहरुले विमानस्थल बनाउनुपर्नेमा जोड दिएको अधिकारीले बताउनुभयो ।

निजगढ विमानस्थल निर्माणस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहितका नेताहरु निजगढ पुग्नुभएको प्राधिकरणले जनाएको छ । निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला आएको केही दिनमै प्रधानमन्त्रीसहितका गठबन्धन दलका शीर्ष नेताहरु अवलोकनका लागि निजगढ पुग्नुभएको हो । प्रधानमन्त्री नेतृत्वको टोली निजगढ विमानस्थल निर्माण क्षेत्रको स्थलगत अवलोकनपछि काठमाडौँ फर्किएको छ । उहाँहरुले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिनुभएको प्राधिकरणका महानिर्देशक अधिकारीले बताउनुभयो ।

Inside Article Ads

सर्वोच्च अदालतले विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न फैसलामा भनेको छ । प्रधानमन्त्री देउवाको नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरणमन्त्री रामसहाय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । टोलीले जीतपुर-सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको प्राधिकरणले जनाएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.