Fast Nepal News

काठमाडौँ महानगरपालिकाद्वारा कल सेन्टर सञ्चालनमा

banner single news

काठमाडौं  ─ २४ जेठ २०७९

काठमाडौं, काठमाडौँ महानगरपालिकासँग केही गुनासो भए वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोमबारदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, “सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।

कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो । कार्यक्रममको उद्घाटन गर्दै कामपा प्रमुख बालेन्द्र साहले उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको बताउनुभयो ।

Inside Article Ads

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्बिर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने बताइएको छ । सूचना प्रविधि विभागका प्रमुख ढकालका अनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.