Fast Nepal News

गण्डकीका मुख्यमन्त्री पोखरेल र कावा भारतीय राजदूतबीच भेटवार्ता

banner single news

गण्डकी ─ ११ जेठ २०७९

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा खम्पा पोखरा आउनुभएको हो । भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल–भारतबीचको सम्बन्धबारे कुनै व्याख्या गर्न जरुरी नभएको उल्लेख गर्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उत्तरमा चीनको नाकाबाट दक्षिणमा भारत जोड्ने कोरला–त्रिवेणी सडकअन्तर्गत दुम्कीवास–त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङमार्ग निर्माणमा प्रदेशले सङ्घ सरकारमार्फत भारतसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो । प्रदेशको रोजगारी प्रवद्र्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसअनुसारका संरचना निर्माण जरुरी रहेको उहाँले बताउनुभयो । कार्यवाहक भारतीय राजदूत खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो ।

Inside Article Ads

प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाका बारेमा विस्तृत विवरण प्राप्त भएको खण्डमा थप काम गर्न सकिने उहाँको भनाइ छ । नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र सङ्घसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतीय राजदूतावासमार्फत प्रदेशभर ५२ योजना सञ्चालन भएकामा कास्कीमा मात्र ११ वटा सञ्चालित छन् । भेटमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थलगायतको उपस्थिति थियो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.