
काठमाडौँ — १० चैत्र २०७८
काठमाडौँ , रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा बिहीबार पनि ३ घण्टा मात्रै आपूर्ति हुने प्राधिकरणले जनाएको छ । वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । अहिले नेपालले अपुग बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) बाट किनिरहेको छ । आईईएक्सबाट बिजुली किन्दा हरेक दिन बोलकबोल प्रतिस्पर्धा गर्नुपर्छ । बुधबारका लागि बिजुली किन्न प्राधिकरणले मंगलबार आईईएक्सको बोलकबोलमा भाग लिएको थियो । तर, प्राधिकरणले प्रस्ताव गरेको भन्दा भारतीय बजारमा महँगोमा बिजुली बिक्यो । जसकारण प्राधिकरणले बिजुली पाएन ।
आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनभरिका लागि ९६ वटा फरक–फरक बल्कमा प्रतिस्पर्धा गर्नुपर्छ । नेपालले बुधबार दिनभरिका लागि गरेको बोलकबोल प्रतिस्पर्धाबाट ४ वटा बल्क अर्थात् १ घण्टाका लागि मात्रै बिजुली पाएको थियो । त्यस्तै, बिहीबारका लागि भएको बिडिङमा पनि १२ वटा बल्कमा मात्रै बिजुली पाएको छ । आईईएक्सबाट किनेको बिजुली ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट नेपाल भित्रिएको छ । नेपालले भारतका पावर ट्रेडिङ कम्पनी लिमिटेडसँग २५ वर्षका लागि ३.१५ भारु दीर्घकालीन पीपीए गरेको भए पनि उक्त सम्झौता अहिले कार्यान्वयनमा छैन । ‘हामीले अहिले भारतबाट बिजुली किन्नका लागि एनभीभीएनसँग वार्षिक सम्झौता गरेका छौं । ४.१६ भारुमा १५० मेगावाटसम्म बिजुली किन्ने गरी गरेको सम्झौता २०२२ जुनसम्म कायम रहन्छ,’ उनले भने, ‘२५ वर्षका लागि भएको दीर्घकालीन पीपीए अहिले कार्यान्वयनमा छैन । विकल्प भनेको बिहारबाट ल्याउने हो ।’
