
काठमाडौँ — ३० फागुन २०७८
काठमाडौँ , भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ । वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो । ‘जजिराले कुवेत–भैरहवा–कुवेत दैनिक उडानको प्रस्ताव गरेको छ, भैरहवा विमानस्थलमा उडान गर्न जजिराबाहेक अन्य विदेशी वायुसेवाबाट प्रस्ताव आएको छैन,’ प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णले कान्तिपुरसँग भने । जजिराले अहिले कुवेत–काठमाडौं रुटमा १७४ सिटको एयरबस–३२० मार्फत दैनिक उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूका अनुसार करिब साढे ५ घण्टाको हवाई दूरी भएको कुवेत–काठमाडौं अत्यधिक श्रमिक ओहोरदोहोर गर्ने नाफाको रुटमा पर्छ । नेपाल सरकारले १६ वर्षअघि कुवेतसँग हवाई सम्झौता गरेको थियो ।
एयरर्याकमा नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, उपलब्ध सेवा सुविधाबारे विस्तृत प्राविधिक जानकारी समेटिएको हुन्छ । एयरर्याक जारी गरेपछि सरोकारवालाको सुझाव लिन ४५ दिनसम्मको समय दिइन्छ । यो अवधिमा कुनै त्रुटि सच्याउनुपर्ने वा जानकारी थप्नुपर्ने भए प्राधिकरणले तिनलाई समेटेर विश्वभरका १९३ मुलुकको हवाई सेवा विकास र व्यवस्थापन गर्ने संयुक्त राष्ट्रसंघ मातहतको विशेष निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई पठाउनुपर्ने हुन्छ । आईकाओले सदस्य मुलुक नेपालको अनुरोधअनुसार भैरहवा विमानस्थलबारे ‘जेप्पसन चार्ट’ मा प्रकाशन गर्दै विश्वभरका वायुसेवालाई नयाँ विमानस्थल थपिएको जानकारी दिन्छ । नयाँ विमानस्थल सञ्चालन गर्न अपनाइने यो अनिवार्य प्रक्रिया हो । ४५ दिनको अवधि वैशाख ७ मा सकिन्छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमान भैरहवामा आकस्मिक अवतरण गर्न बाटो खुला हुनेछ । अहिले काठमाडौंमा अवतरण हुन नसक्दा अन्तर्राष्ट्रिय विमानहरू भारतको दिल्ली, लखनउ, कोलकाता र बंगलादेशको ढाकामा अवतरण हुँदै आएका छन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघमा शिलान्यास गरेको गौतम बुद्ध विमानस्थल एसियाली विकास बैंकको ऋण तथा अनुदान र नेपाल सरकारको समेत गरी करिब साढे ७ अर्ब रुपैयाँ लगानीमा तयार भएको छ । निर्माणको जिम्मेवारी पाएको चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले २०७४ पुसमा काम सक्नुपर्ने थियो । तर, ७ पटक म्याद थपिएपछि मात्रै काम पूरा भएको हो । ३ वर्षमा सक्नुपर्ने परियोजना भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत समस्याका कारण ७ वर्षमा मात्र सकिएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएपछि हालको भैरहवा विमानस्थलको धावनमार्ग ट्याक्सी–वेमा परिणत हुनेछ । ३ हजार मिटर लामो धावनमार्ग भएको गौतम बुद्ध विमानस्थलमा ५ वटा न्यारोबडी र ४ वटा एटीआर विमान पार्किङ गर्न सकिन्छ । वाइडबडी विमान पनि उडान गर्न सक्ने यो धावनमार्गको लम्बाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा ३ सय ५६ मिटर मात्रै छोटो छ ।
( कान्तिपुर दैनिक )
