
अर्घाखाँची — २९ फागुन २०७८
अर्घाखाँची , अर्घाखाँचीका तीन नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै पदमा पुरुष छन् । गाउँपालिका उपाध्यक्षमा भने महिला छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन भएकाले यहाँ महिला नेतृको उपप्रमुखमा चुनाव लड्ने अवसर पनि गुमेको हो । कांग्रेसका तर्फबाट सन्धिखर्क नगरपालिका उपप्रमुख उम्मेदवार भएर नेतृ कमला आचार्यले करिब एक साता मतदातासित भोट माग्दै हिँडिन् । चुनावी एजेण्डासहित गाउँ–गाउँमा मत माग्दामाग्दै कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन भयो । त्यसपछि उनको उम्मेदवारी नै खोसियो । उनको ठाउँमा माओवादीका ठाकुरकुमार विक उम्मेदवार बनाइए । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी ईश्वरा पोखरेल पराजित भइन् । प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसाल र उपप्रमुखमा विक विजयी भए । शितगंगामा एमालेबाट उपप्रमुखकी उम्मेदवार गीता भाट ५५ मतान्तरले कांग्रेस–माओवादी गठबन्धनका टीका रेश्मीसँग पराजित भइन् । कांग्रेसबाट उपप्रमुख उम्मेदवार भएर महिना दिनसम्म प्रचार गरेकी नेतृ मीना पौडेलले गठबन्धनकै कारण चुनाव लड्ने अवसर गुमाएकी थिइन् ।
मालारानी गाउँपालिकामा गठबन्धन र एमालेले उपाध्यक्षमा महिला उठाएका थिए । गठबन्धनलाई परास्त गर्दै उपाध्यक्षमा प्रमिला क्षत्री विजयी भइन् । छत्रदेवमा कांग्रेस नेतृ तुल्सादेवी श्रेष्ठ र पाणिनिमा एमालेबाट लक्ष्मी गौतम विजयी भए । शितगंगामा पराजित एमाले जिल्ला सदस्य भाटले अहिले उम्मेदवारका लागि पार्टीभित्र लबिइङ, कार्यकर्ता भेटघाट गरिहेकी छन् । ‘पार्टीले उम्मेदवार बनाए चुनाव लड्ने इच्छा छ,’ उनले भनिन्, ‘उम्मेदवार बन्ने अझै टुंगो छैन । मेरो व्यक्तिगत इच्छा भएर हुँदैन, पार्टीले अघि सार्छ कि सार्दैन, हेरौं ।’ संविधानमा प्रावधान भएकोले बाध्यतावश दोस्रो पदमा महिलालाई थन्क्याउने गरेको उनले बताइन् । ‘महिलाले अवसर पाए जस्तोसुकै नेतृत्व पनि इमानदारीपूर्वक हाँक्न सक्छन्,’ भाटले भनिन्, ‘पुरुषवादी सोच अझै कायम छ । भरसक महिलालाई अघि सार्न खोजिंदैन ।’ शितगंगामा कांग्रेस–माओवादी गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा थियो । महिलाले महिलालाई मत नदिनुको कारणमा भाटले पार्टीबाट प्रशिक्षित नहुनु, दबाबमा पर्नु, महिलालाई स्वतन्त्र रूपमा निर्णय गर्न नदिनु र महिलाहरू पनि आफ्नो निर्णय क्षमतामा कमजोरी देखिनु भएको बताइन् ।
( कान्तिपुर दैनिक )
