Fast Nepal News

८६ पालिकामा एकीकृत बस्ती बनाइने

banner single news

काठमाडौँ — २५ फागुन २०७८

काठमाडौँ , सरकारले जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्दै विपन्न समुदायको जीविकोपार्जनमा सघाउन कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गर्ने भएको छ । भूकम्प, बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपबाट विस्थापितको स्थानान्तरण समस्या यथावत् रहेका बेला सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उस्तै प्रकृतिको नयाँ कार्यक्रम अघि सारेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागले हिमाली क्षेत्रमा रहेका कतिपय बस्तीलाई व्यवस्थित गर्ने र स्थानीय तहले पहिचान गरेका स्थानमा एकीकृत बस्ती बसाल्ने तयारी रहेको जनाएको छ ।

स्थान छनोट गरेर १० दिनभित्रमा विवरण पठाउन सम्बद्ध सबै स्थानीय तहलाई विभागले पत्राचार गरिसकेको छ । दार्चुला, बझाङ, अछाम, बाजुरा, मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, रुकुम पश्चिम र जाजरकोटका पालिकामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । मन्त्रिपरिषद्ले उच्च पहाडी एवं हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि गत पुसमा स्वीकृत गरेको थियो । चालु वर्षमा ११ जिल्लाका ११ पालिकामा कार्यक्रम सञ्चालन गर्न ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधार विकासका लागि ४५ र एकीकृत बस्तीका लागि ४० करोड बजेट छ ।

Inside Article Ads

पूर्वाधार विभागका महानिर्देशक ईश्वर मरहठ्ठाका अनुसार चालु वर्ष अछामको साँफेबगर, मुगुको छायानाथ, जाजरकोटको भेरी, रुकुम पश्चिमको आठबीसकोट, बझाङको जयपृथ्वी, कालीकोटको तिलागुफा, बाजुराको बडिमालिका, डोल्पाको त्रिपुरासुन्दरी तथा दार्चुलाको व्यास, जुम्लाको सिंजा र हुम्लाको सिमकोटमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अर्को वर्ष अन्य पालिकामा विस्तार हुने विभागले जनाएको छ । कार्यक्रम स्थानीय तहले सञ्चालन गर्ने र बजेट उनीहरुकै खातामा पठाइने भएको छ । विभागको योजना तथा विकास सहायता समन्वय महाशाखाका सिनियर डिभिजनल इन्जिनियर होमनाथ पौडेलले कर्णाली र सुदूरपश्चिमका बस्ती मानव विकास सूचकांकमा पछि परेको तथ्यांकका आधारमा क्षेत्र छनोट गरेर कार्यक्रम अघि सारिएको बताए ।                           

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.