
सोलुखुम्बु — २५ फागुन २०७८
सोलुखुम्बु , सगरमाथा शिखर सामुन्नेको कालापत्थरमा मंगलबार नारी दिवसका अवसरमा भएको भेलाले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरेको छ । सन् २००९ मा भएको मन्त्रिपरिषद् बैठकको झल्को दिने भेलामा ४० नारीको समूह सहभागी भएका छन् । भेलामा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कलाकार मनीषा कोइराला, अधिकारकर्मी प्रजिता कार्की, बन्दना राणालगायतको टोलीले कालापत्थरमा करिब १ घण्टा बिताए । ‘हिँडेर यति टाढा आउन सक्छु भन्ने कल्पनासमेत गरेको थिइनँ, साथसाथै अभियानले गरेको प्रस्ताव नकार्न सकिनँ, त्यसैले ८ दिन हिँडेर कालात्थर आइपुगें,’ न्यायाधीश मल्लले भनिन् । कृत्रिम अक्सिजन लगाएर बसेकी उनले अब नेपाल जस्तो मुलुकले जलवायु परिवर्तनको मुद्दामा न्याय खोज्न कानुनी उपचार खोज्नुपर्ने बताइन् । ‘धेरै अन्तर्राष्ट्रिय घोषणाहरू भएका छन्, सम्मेलनहरूले निर्णय गरेका छन् तर कार्यान्वयन नहुँदा नेपाल जस्तो मुलुकले अन्याय सहनुपरेको छ,’ उनले भनिन् ।
हिमालहरू पग्लेको देख्दा चिन्ता लागेको उनले बताइन् । अभिनेत्री कोइरालाले हिमालमा हिउँ कम हुँदै जानु चुनौतीको विषय भएको बताइन् । ‘हिउँ पग्लिँदै जानु र हिमालहरू केवल कालापत्थरमा परिणत हुनु सिंगो मानव समुदायको अस्तित्वमाथिको खतरा हो,’ उनले भनिन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा साथसाथै नामक संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा कालापत्थरमा विशेष कार्यक्रम गरिएको हो । घोषणापत्रमा जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार जलवायुजन्य मुद्दाहरूको वकालत गर्ने, प्रतिकूलता न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न हरसम्भव प्रयास गर्ने, मानव स्वास्थ्य प्रणालीको दिगो व्यवस्थापनका लागि प्रवर्द्धन गर्न अपिल गर्ने उल्लेख छ ।
हिमाली जनता विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने, हिमालय र तल्लो तटीय क्षेत्रका चुनौतीहरूमा विश्वव्यापी ध्यान आकर्षित गराउने, तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेकोबारे ध्यानाकर्षण गराउने र हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाको समर्थन गर्ने घोषणापत्रमा जनाइएको छ । साथसाथैकी अध्यक्ष प्रतिजा कार्कीद्वारा जारी घोषणापत्रमा भनिएको छ, ‘जलवायु न्याय आन्दोलनसँग हात मिलाउन प्रतिबद्धता व्यक्त गर्ने, हिमालयलाई प्रमुख प्रकृतिमा आधारित पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न पहल गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न कमजोर समुदाय विशेष गरी महिलाहरूलाई जागरुकता उत्पन्न गर्न र सक्षम बनाउन प्रतिबद्धता व्यक्त गरिन्छ ।’ वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख राधा वाग्लेले जलवायु परिवर्तनका असर नियन्त्रण गर्न सरकारले अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताइन् ।
( कान्तिपुर दैनिक )
