
लमजुङ — २५ फागुन २०७८
लमजुङ , जिल्ला प्रशासन कार्यालय लमजुङले सुन्दरबजार ९, सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी लगाएको निषेधाज्ञाले डुम्रे-बेंसीसहर सडकमा पर्ने उक्त स्थानमा सवारी तथा मानिसको आवागमन ठप्प भएको छ । सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थीको मृत्युको विषयलाई लिएर प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगर घर भई फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा पढ्ने १८ वर्षीय सनिज श्रेष्ठको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएपछि आफन्त र स्थानीयले विद्यालयको दोष देखाउँदै विरोध गरेका हुन् । नारी दिवसको दिन विद्यालय बन्द भएको अवस्थामा होस्टेलमा बस्ने विद्यार्थीलाई लिएर होस्टेल वार्डेन स्वयं मर्स्याङ्दीमा गएको र लापारबाहीले विद्यार्थीको मृत्यु भएको भन्दै मंगलबार प्रदर्शन भएको थियो ।
विद्यालयको गेट, दुईवटा स्कुल बसका सिसा, एउटा भ्यानको सिसा फोड्दै विद्यालयमाथि आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठीचार्ज गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए । प्रशासनले एक सूचना जारी गरी सुन्दरबजार नगरपालिका ७ पूर्वदक्षिणस्थित तनहुँको सीमा पाउँदी पुल, पूर्वतर्फ राइनासबाट पाउँदीतर्फ आउने मर्स्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका ९ मा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको आवास क्षेत्रको मूल गेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका ८ सिउँडीबार चोकसमेत ४ किल्लाभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा क्षेत्रमा दूध बोकेका गाडी, एम्बुलेन्स र प्रेसलाई मात्रै आउजाउ गर्न दिइने डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार निषेधाज्ञा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । तनहुँ र पोखराबाट थप प्रहरीसमेत ल्याएको प्रहरीले जनाएको छ । डीएसपी कार्कीले होस्टेल वार्डेन (शिक्षक) सरोज अमलिया र एक जना विद्यार्थीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको बताएको छ । विद्यार्थीको आफन्तलाई थाहै नदिई शव पोस्टमार्टमका लागि अस्पताल ल्याएको भन्दै स्थानीयले मंगलबार बेंसीसहरस्थित जिल्ला अस्पताल र प्रहरी कार्यालयमा आएर प्रदर्शन गरेका थिए । सिउँडीबारको प्रदर्शनमा ३ जना प्रहरी घाइते भएका थिए । लाठीचार्जबाट केही स्थानीयसमेत सामान्य घाइते भएका छन् । घटनाको विरोधमा तनहुँको बाइसजाागरका बासिन्दाले बाइसजाँगरमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
