
संखुवासभा — २५ फागुन २०७८
संखुवासभा, २०७७ असार २७ गते राति बेसिन्दा गाउँकै बीच भएर पहिरो गयो । पहिरोमा ११ बेपत्ता भए । उनीहरू अझै भेटिएका छैनन् । चारको जीवितै उद्धार गरिएको थियो । बाँचेकाहरूको घर बगाएपछि अस्थायी बसोबासका लागि टेन्ट उपलब्ध गराइयो । उनीहरू अहिले पनि सिलिचोङ गाउँपालिकाको बुधबारे बजारमा टेन्टमा रात बिताउँछन् । बर्खाको झरी, कठ्यांग्रिँदो जाडो काटेका पहिरो पीडित आउँदो बर्खामा नयाँ थलोमा बस्न पाइने आशामा छन् । तर सरकारी निकायको पटकपटकको आश्वासनले उनीहरूमा निराशा छाएको छ । पहिरोमा बाँचेका गोवासिंह कुलुङ थातथलो छाडेर टेन्टमा बसेका छन् । २० महिना बित्दा पनि सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाका बासिन्दाको पुनर्बासको प्रबन्ध हुन सकेको छैन,’ उनले भने, ‘पहिरो गएदेखि विस्थापित छौं ।’ सरकारी र गैरसरकारी संस्थाले त्यतिबेला दिएको टेन्टमा बसिरहेको उनले बताए । ‘खोला बगरमा बसेको डेढ वर्ष भइसक्दा पनि सरकारी निकायबाट आश्वासनबाहेक केही पाएनौं,’ कुलुङले भने ।
स्थायी रूपमा पुनर्बास गर्न स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिदेखि प्रदेश र केन्द्रसम्म कागजी प्रक्रिया सम्पन्न भए पनि निःशुल्क दिने भनिएको जग्गा नपाएको उनले गुनासो गरे । कुलुङले भने, ‘निःशुल्क जग्गामा पुनर्बास गर्ने भनिएको थियो,’ उनले भने, ‘अब कतिन्जेल पर्खनु ?’ बेसिन्दाका ८६ र चेप्चेवाका २० गरी १ सय ६ घरपरिवारलाई स्थायी पुनर्बासको व्यवस्था गर्ने प्रक्रिया सुस्त छ । जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको पटकपटकको छलफलपछि खाँदबारी नगरपालिका क्षेत्र र सिलिचोङकै बखल्टुममा उनीहरू स्थानन्तरण गर्ने भनिएको छ । ‘यो निर्णय भएको पनि बर्ष दिन बित्यो,’ अर्का पीडित दिलीप कुलुङ भन्छन्, ‘जग्गा हस्तान्तरण भएको छैन, आसमात्र देखाउने काम भएको छ ।’
( कान्तिपुर दैनिक )
