Fast Nepal News

कांग्रेसमा श्रेष्ठद्वारा तेस्रो वरीयता दाबी

banner single news

काठमाडौँ — २२ फागुन २०७८

काठमाडौँ , कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २७ मा बसेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाको दायाँतर्फ उपसभापति पूर्णबहादुर खड्का र बायाँतर्फ वरिष्ठ नेता रामचन्द्र पौडेलको सिट व्यवस्थापन गरिएको थियो । खड्काको लहरमा महामन्त्री विश्वप्रकाश शर्मा र पौडेलको लहरमा क्रमशः उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको सिट थियो । तर आफ्नो सिटमा पहिल्यै गोपालमान श्रेष्ठ बसेपछि गुरुङ खड्काको लहरमा बसे । दोस्रो दिनको बैठकमा भने केन्द्रीय कार्यालयले सबै नेताको अगाडि ‘नेमप्लेट’ राखेको थियो । त्यसपछि श्रेष्ठ सहमहामन्त्रीभन्दा पछाडिको वरीयतामा बसे । पार्टीको पूर्वउपसभापति रहिसकेका श्रेष्ठ माघ २७ को बैठकमा भूलवश पौडेलपछिको लहरमा बसेका थिएनन् । उनले पार्टीमा तेस्रो वरीयताको दाबी गर्दै ‘कुर्सीमाथि हस्तक्षेप’ गरेका हुन् । तेस्रो वरीयताको दाबीसहित उपसभापतिको सिटमा बसेपछि महामन्त्री शर्माले श्रेष्ठलाई ‘तत्कालका लागि’ निर्धारित व्यवस्थाअनुसार सिट ग्रहण गर्न मनाएका थिए । ‘मलाई सभापतिजीले नेताको पदवीसहित तेस्रो वरीयता (पौडेलपछि) दिने बचन दिनुभएको थियो, तर अहिलेसम्म पूरा गर्नुभएको छैन,’ निकटस्थसँग श्रेष्ठले भन्ने गरेका छन्, ‘रामचन्द्रजीलाई तुरुन्तै आफूपछिको वरीयतामा राखिसक्नुभयो, मेरो माग रामचन्द्रजीपछि हुनुपर्छ भन्नेमात्र हो, त्यही पनि सुनुवाइ भएन ।’

वरीयताकै कारण श्रेष्ठ देउवा र पौडेलबाहेक अन्य पदाधिकारी जाने कार्यक्रममा सहभागी हुँदैनन् । शनिबार कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन संघको आठौं महाधिवेशनमा निम्तो भए पनि उनी गएनन् । महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाका साथै अन्य पदाधिकारी र नेता सहभागी थिए । नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा करिब ३ वर्ष कार्यवाहक सभापति र पार्टी एकीकरणपछि उपसभापति भएका ७४ वर्षीय श्रेष्ठ सभापति देउवानिकट हुन् । २०६१ माघ १९ मा सरकारले देउवालाई नजरबन्द र त्यसपछि शाही आयोगले हिरासतमा राखेपछि उनी पार्टीको कार्यवाहक सभापति भएका थिए । तत्कालीन विद्रोही माओवादीसँग शान्तिवार्तादेखि २०६२/६३ को आन्दोलनमा पार्टीका तर्फबाट उनैले नेतृत्व गरेका थिए । जेलमुक्त भएपछि पनि देउवाले श्रेष्ठलाई कार्यवाहकको भूमिकामा राखेका थिए । मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार रहेका उनले देउवालाई समर्थन गरेका थिए । ‘म तपाईं (देउवा) को सच्चा सहयोगी मात्र होइन, उमेर र योगदानको हिसाबले तपाईंपछिको वरिष्ठ नेता पनि हुँ,’ उनले सभापति निर्वाचित भएपछि देउवालाई बधाई दिँदै भनेका थिए, ‘पार्टीभित्र मलाई पद होइन, सम्मानजनक मर्यादा दिनुहोला ।’   
महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पुस १० मा बसेको पहिलो बैठकमै श्रेष्ठले दोस्रो वरीयता मागेका थिए, जतिबेला पौडेल केन्द्रीय सदस्य मनोनीत भएका थिएनन् । तर देउवाले उनलाई पदाधिकारीभन्दा पछाडि १४ औं नम्बरमा राखे । उनले असन्तुष्टि जनाउँदै माइन्युटमा सही गरेनन् । पुस १९ मा भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकमा केन्द्रीय सदस्य मनोनीत भइसकेका पौडेललाई दोस्रो वरीयतामा राख्दा श्रेष्ठ एक स्थान तल झरे । उनले बैठकमै देउवासँग असन्तुष्टि पोखे । बैठकको माइन्युटमा सही गरेनन् । नेताको पदवीसहित देउवा र पौडेलपछि तेस्रो वरीयता दिनुपर्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठले नेताको पदवी मागेर देउवा र पौडेलसँगै आफूलाई उभ्याउन खोजेका हुन् । उनले तेस्रो वरीयता माग्नुमा पौडेलसँगको मनोवैज्ञानिक प्रतिस्पर्धा प्रमुख कारण पनि हो । १४ औं महाधिवेशनअघि संस्थापनविरोधी खेमाको नेतृत्व गरिरहेका पौडेल अहिले देउवाको सहयोगीका रूपमा सक्रिय छन् । महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा पौडेलले देउवाको बोली बोल्ने गरेका छन् । उनी एक हिसाबले देउवाको राजनीतिक सारथिका रूपमा सक्रिय भइरहेका छन् । ‘पार्टीभित्र समकक्षी भएर पनि प्रतिस्पर्धामा पछाडि पर्नुभएका उहाँ अब देउवासँग सहकार्य गरेर राजनीतिक लाभ लिने रणनीतिमा हुनुहुन्छ,’ पौडेलनिकट एक नेताले भने, ‘देउवामाथि पनि उहाँ जत्तिको सिनियर नेतालाई व्यवस्थापन गर्ने जिम्मेवारी छ ।’       

श्रेष्ठलाई पौडेलको सक्रियता र देउवासँगको बढ्दो निकटता रुचेको छैन । पार्टीका तर्फबाट वरिष्ठ नेताको हैसियतमा आउने अवसर पौडेलले पाउनेमा उनी सचेत देखिन्छन् । श्रेष्ठले देउवाका साथै आफूनिकट अन्य नेतासँग पार्टीले राष्ट्रपति पाउने अवस्था आए आफ्नो दाबी रहने बताउने गरेका छन् । ‘देशले पहिलो राष्ट्रपति मधेसी र दोस्रो राष्ट्रपति महिलालाई पायो, अब जनजातिको छोरो राष्ट्रपति हुनुपर्छ,’ उनले भन्ने गरेका छन् । पटक–पटक मन्त्री, उपप्रधानमन्त्री र पार्टी उपसभापति र कार्यवाहक सभापति भइसकेको आफू स्वाभाविक दाबेदार रहेको उनको भनाइ छ । पौडेल पनि पार्टीभित्र प्रधानमन्त्री र राष्ट्रपतिका आकांक्षी हुन् । उनी पटक–पटक मन्त्री, उपप्रधानमन्त्री, सभामुख र पार्टीभित्र उपसभापति र कार्यवाहक सभापति भइसकेका नेता हुन् । उमेरका हिसाबले पौडेल र श्रेष्ठका लागि आगामी करिब ५–६ वर्ष सक्रिय राजनीतिक जीवन हुनेछ । देउवाको राजनीतिक जीवनको लामो सहयात्री भए पनि पार्टीभित्र श्रेष्ठको प्रभावशाली हैसियत भने बन्न सकेको छैन । १३ औं महाधिवेशनमा तेस्रो धार निर्माण गरेका कृष्णप्रसाद सिटौलासमेत नेतात्रयका रूपमा स्थापित हुन सकेका छैनन् । उमेरले वरिष्ठ भए पनि पार्टी एकतापछि श्रेष्ठको पदीय हैसियतमा पुगेका अन्य नेता पनि छन् ।

Inside Article Ads

पार्टी एकतापछि उपसभापति भएका सिंह १२ औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । पार्टी एकतापछि महामन्त्री भएका विमलेन्द्र निधि १३ औं महाधिवेशनपछि उपसभापति भएका हुन् । अर्कातर्फ एकीकृत पार्टीमा सहमहामन्त्री र महामन्त्री हुँदै हाल उपसभापति रहेका खड्काभन्दा माथिल्लो वरीयतामा श्रेष्ठलाई राख्न देउवालाई कठिन छ । ‘श्रेष्ठलाई पहिलो पटक पदाधिकारी भएका उपसभापति गुरुङ, महामन्त्रीद्वय थापा, शर्मा र ८ सहमहामन्त्रीभन्दा माथि राख्न नसकिने होइन, तर उपसभापति खड्काको वरीयता मिच्ने आधार देखिँदैन,’ सभापति देउवानिकट एक नेताले भने, ‘तर सभापतिले चित्त बुझाउन केही उपाय निकाल्नु होला ।’ राजनीतिक विश्लेषक आचार्य भने १४ औं महाधिवेशनले सभापति विजेता देउवा र उपविजेता शेखर कोइरालालाई नेता बनाएको बताउँछन् । ‘पार्टीमा कुनै नेतालाई मर्यादा र वरीयता दिने बेग्लै कुरा हो, नेताले त्यो माग्न पनि सक्छन्,’ उनले भने, ‘तर पार्टीको ४० प्रतिशत विश्वास पाएको व्यक्ति स्वतः नेता हो, अब कांग्रेसलाई नेतात्रय होइन, नेताद्वयको अवधारणामा अघि बढाउनुपर्छ ।’

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.