
काठमाडौँ — २२ फागुन २०७८
काठमाडौँ , महाशिवरात्रिको साँझ शिवराज कार्कीका साथीहरू पशुपतिनाथ मन्दिरमा पर्खिरहेका थिए । एक भेटघाट सकाएर शिवराज अर्को भेटका लागि आरुबारीबाट पशुपतितर्फ हुँइकिए । सोही क्रममा उनले चलाएको बा६४प १३६९ नम्बरको मोटरसाइकलले काठमाडौं महानगर–६ सरस्वती नगरमा पैदलयात्रुलाई ठक्कर दियो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रु ओखलढुंगा हर्कपुर घर भई चावहिल गोपीकृष्ण बस्ने ६१ वर्षीय दुर्गाबहादुर कार्की घाइते भए । पैदलयात्रुलाई ठक्कर दिएर अनियन्त्रित भएको मोटरसाइकल सडक किनाराको एक घरको पिलरमा ठोक्कियो । दुर्घटनाबाट मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्ने २८ वर्षीय शिवराज कार्कीको घटनास्थलमै मृत्यु भयो । मोटरसाइकलको ठक्करबाट सख्त घाइते दुर्गाबहादुर कार्कीको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल पुगेका एक प्रहरी अधिकृतका अनुसार मोटरसाइकल चालकले हेल्मेटको बेल्ट लगाएका थिएनन् ।
‘हेल्मेट टाउकोमा मात्र राखिएको पाइयो, पैदलयात्रुको ठक्करपछि हेल्मेट खस्यो र मोटरसाइकलसँगै घरको पिलरमा टाउको बजारियो,’ उनले भने, ‘हेल्मेट राम्रोसँग लगाएको भए ज्यान जोगिन सक्थ्यो ।’ तीव्र गति र चालकको लापरबाहीकै कारण उक्त दुर्घटनामा दुईको मृत्यु हुन पुगेको प्रहरीको भनाइ छ । पुस २० को साँझ ललितपुर–१० कुपण्डोलस्थित बा९५प ५३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनाबाट मोटरसाइकलमा सवार गोदावरी–९ छम्पीका ३१ वर्षीय राजु तामाङको मृत्यु भयो । मोटरसाइकल दुर्घटनाबाट सख्त घाइते तामाङको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गोदावरी–७ बुरुमचुलीका ३६ वर्षीय दीपेश तामाङ घाइते भए । ललितपुर प्रहरीका अनुसार घाइते तामाङ अझै उभिएर हिँड्न सकेका छैनन् । तीव्र गतिकै कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
यी घटनाको प्रकृति हेर्दा दुर्घटनामा संलग्न चालककै असावधानी/लापरबाही पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकलाई हेर्ने हो भने पनि सवारी दुर्घटनाको पहिलो कारक चालकको लापरबाही र असावधानी नै पाइन्छ । महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार उपत्यकामा चालु आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्ममा ६ हजार २१ सवारी दुर्घटना भएका छन् । जसमध्ये चालकको लापरबाही/असावधानीकै कारण ३ हजार ३ सय ५३ सवारी दुर्घटना भएको छ । तीव्र गतिका कारण २ हजार ६३, मादक पदार्थ सेवनबाट ३ सय ५३, ओभरटेक १ सय १४, यान्त्रिक गडबडी ९०, सडकको अवस्थाका कारण ३४, पैदलयात्रुको लापरबाहीले ५ र पशुचौपायाका कारण ९ सवारी दुर्घटना भएको तथ्यांक छ । चालु आवको ७ महिनामा उपत्यकामा भएको दुर्घटनामा ९० जनाले ज्यान गुमाएका छन् भने १ सय ५४ गम्भीर र ४ हजार ५ सय ९५ जना सामान्य घाइते भएको तथ्यांक छ । महाशाखाका अनुसार गत आवमा ९ हजार ५ सय ४५ सवारी दुर्घटना भए । जसमध्ये १ सय ६६ जनाले ज्यान गुमाए ।
दुर्घटनाबाट २ सय २९ गम्भीर र ७ हजार ९५ जना सामान्य घाइते भए । महाशाखाको तथ्यांकअनुसार दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकल दुर्घटनाको संख्या उच्च छ । चालु आवमा उपत्यकामा १० हजार ९ सय ३७ सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ जसमध्ये सबैभन्दा धेरै ४ हजार ८ सय ७ मोटरसाइकल/स्कुटर दुर्घटनामा संलग्न पाइएको छ । दुर्घटनामा ३ हजार ९ सय ८ कार, भ्यान, जिप, ९ सय ७९ ट्रक, टिपर, ९ सय ५८ बस, ९४ माइक्रो, ९० ट्याम्पो र ९८ अन्य सवारीसाधन छन् । महाशाखाका अनुसार मूलतः सवारी दुर्घटनामा चालकको असावधानी/लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, सवारीको यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रुको लापरबाही, सडकको अवस्था, चौपायाजस्ता कारण छन् । ‘दुर्घटना विभिन्न प्रकृतिले हुन्छ, चालक र यात्रुको हतारोपन नै दुर्घटनाको मुख्य कारण हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले भने, ‘सामाजिक सञ्जालमा घण्टौं समय बिताएको पत्तो नहुने मान्छे हामी सडकमा जहिल्यै हतारिन्छौं र परिणाम दुर्घटना भोग्छौं ।’ सवारी दुर्घटना न्यूनीकरणका लागि गणेशकुमार पहाडीको संयोजकत्वमा गठित ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति २०७७’ को प्रतिवेदनअनुसार नेपालमा औसत दैनिक ८ जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ ।
प्रतिवेदनले असुरक्षित सडक संरचना, सवारीसाधनको व्यवस्थित प्रणालीको नियमन मापदण्डको अभाव, असुरक्षित सार्वजनिक यातायात, चालकको अयोग्यता, लापरबाही, ट्राफिक तथा सवारी नियमको अज्ञानतालाई सवारी दुर्घटनाको प्रमुख कारणका रूपमा औंल्याएको छ । ‘सडक पूर्वाधारसँगै सवारीसाधन जाँच, नियमन र सडक प्रयोगकर्तामा व्यवस्थित प्रणाली लागू हुन सकेको छैन,’ सहरी यातायात विज्ञ तथा ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने, ‘सडक सुरक्षा प्रणालीलाई अपनाउन जरुरी छ, राज्यले उक्त प्रणालीलाई बेवास्ता गर्दै आएको छ ।’ सडक प्रयोगकर्ताले ट्राफिक नियम पालनामा बेवास्ता गर्दा सडक दुर्घटनामा कमी नआएको गजुरेल बताउँछन् । ‘सडक दुर्घटना बढ्नुमा सवारी चालक र पैदलयात्रीहरू बढी जिम्मेवार छन्,’ उनले भने ।
( कान्तिपुर दैनिक )
