
विराटनगर — २२ फागुन २०७८
विराटनगर , रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सीमावर्ती विराटनगर र आसपासमा उपभोग्य वस्तुको कृत्रिम अभाव सुरु भएको छ । केही व्यवसायीले सामान लुकाउन थालेका छन् भने सुनसरी–मोरङ औद्योगिक क्षेत्रका तोरी तेल उद्योगले मूल्य बढाएका छन् । सामग्री नपाइएला वा महँगिएला भनेर उपभोक्ताले पनि अतिरिक्त भण्डारण गर्न थालेका छन् । युद्धले तोरी अभाव भएको भन्दै यहाँका उद्योगले खाने तेलमा प्रतिलिटर ४० रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन् । ग्यास र अन्य उपभोग्य वस्तुको कृत्रिम अभाव सुरु गरेका छन् । ‘डिपोवाला र पसलेले ग्यास लुकाउन थालेका छन्, भौंतारिएपछि बल्ल एउटा ग्यास पाएँ,’ विराटनगर तीनपैनी चोककी पसले ४२ वर्षीया कमला पुरीले भनिन् । युद्धका बाछिटाले उपभोग्य सामग्रीबाहेक कोइलालगायत वस्तुमा समेत प्रभाव पारेको छ । कोइला अभावले सिमेन्ट उद्योग र इँटाभट्टा प्रभावित भएर उत्पादन लागत बढेको छ । उपभोक्ता मारमा पर्दै छन् ।
युक्रेनबाट नेपालमा तोरीका दाना, सूर्यमुखी र भटमासको क्रुड आयल र गहुँ आयात हुने गरेको छ । पछिल्लो समय तोरीका दानाको मूल्य पनि प्रतिटन ३० देखि ६० डलर बढेकाले पनि तेलको मूल्यवृद्धि भएको सम्बद्ध उद्योगीको भनाइ छ । युक्रेनबाट मगाएको तोरी नै पछिल्लो समय टनमा ३० डलर बढेर आएको उद्योगी अग्रवालले बताए । युक्रेनबाट मगाउन नसकिएपछि अस्ट्रेलियाबाट आइरहेको उनको भनाइ छ । अस्ट्रेलियाको तोरी पनि प्रतिटन ६० डलर महँगो पर्छ । अहिले तोरीको तेलको खुद्रा मूल्य प्रतिलिटर ३ सय रुपैयाँ छ । यही अवस्था रहे एक महिनापछि नै यसको मूल्य चार सय रुपैयाँ हाराहारीमा पुग्ने अग्रवालले बताए । सूर्यमुखी तेलको खुद्रा मूल्य अहिले प्रतिलिटर २ सय ६० रुपैयाँ छ । यही स्थिति रहे यसको मूल्य प्रतिलिटर ३ सय ६० पुग्ने उनको भनाइ छ । अवस्था नसुध्रिए २ सय ५० रुपैयाँमा उपलब्ध भटमास तेलको मूल्य ३ सय ५० रुपैयाँ पुग्न सक्ने उनको बुझाइ छ । नेपाल आउने सूर्यमुखी तेलको क्रुड सबैभन्दा बढी युक्रेनबाट नै आउँछ । केही प्रतिशत मात्र रसिया र अस्ट्रेलियाबाट आउँछ । युक्रेनमा अन्य मुलुकभन्दा तोरी, भटमास र सूर्यमुखीको मूल्य सस्तो छ ।
प्रतिटन १ हजार ५ सय डलर परिरहेको तेलको कच्चा पदार्थ अहिले ३० देखि ३ सय डलरसम्म बढेको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । सात महिनामा युक्रेनबाट ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार किलो तोरी तेलको कच्चा पदार्थ आएको छ । ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार किलो सूर्यमुखी तेलको क्रुड आयल आयात भएको छ । ७९ करोड ४७ लाख रुपैयाँको ४८ लाख ४३ हजार किलो भटमास तेलको कच्चा पदार्थ र ३ करोड ७५ लाख रुपैयाँको १ लाख ८९ हजार किलो सनफ्लावरको दाना आयात भएको भन्सार विभागको तथ्यांक छ । कोइलाको मूल्यवृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्ने नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । नेपालमा कोइला पठाउँदै आएका कोलकाता बन्दरगाहका व्यवसायीले अहिले कोइलामा ३० डलर मूल्यवृद्धि गरिसकेको उनको भनाइ छ । दुर्ई साताअघिसम्म प्रतिटन दुई सय डलरमा पाइने कोइलाको मूल्य रुस–युक्रेनबीचको युद्धले २ सय ३० डलर पुगेको छ । रुस–युक्रेन युद्धले हरेक वस्तुमा प्रभाव परेको र त्यसमा पनि भन्सारका उपभोग्य वस्तु बढी प्रभावित भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।
( कान्तिपुर दैनिक )
