Fast Nepal News

पोखरा–जनकपुर उडान सुरु

banner single news

काठमाडौँ — २२ फागुन २०७८

काठमाडौँ , गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मधेस प्रदेशलाई गण्डकी प्रदेशको पर्यटकीय करिडोरले जोड्न पहल सुरु भएको बताएका छन् । दुबै प्रदेशलाई समृद्ध बनाउने मुख्य अधार पर्यटन रहेको उनको भनाइ छ । प्रदेशको समृद्धिको मुख्य अधार पर्यटनलाई प्रवर्द्धन गर्ने पहल सुरु भएको छ । ‘मधेस प्रदेशको भ्रमणका क्रममा पर्यटकीय करिडोर बनाउने अधार र सम्भावनाको अध्ययन गर्नेछु,’ उनले भने, ‘सम्भावना देखिएका योजनामा मधेससँग सहकार्य गर्नेछौं ।’ बुद्ध एयरले गरेको पोखरा–जनकपुरको पहिलो उडानमा शनिबार जनकपुर आएका मुख्यमन्त्री नेपालीले मधेस प्रदेशको वीरगन्जसँगको आर्थिक सम्बन्ध रहेको बताए । जनकपुरसँग पर्यटकीय करिडोर बनाउनेतर्फ आफूहरू लागिपर्ने पनि उनको भनाइ छ । सिमराबाट पोखराका लागि यसअघि नै उडान सुरु भएको र जनकपुरसमेत हवाई सेवाबाट पोखरासँग जोडिएपछि दुवै सहरको पर्यटन फस्टाउने उनको विश्वास छ । पोखरा प्राकृतिक सम्पदाले भरिपूर्ण नगर रहेको र जनकपुर धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य रहेकाले सीधा उडान हुँदा यी दुवै सहरमा पर्यटकको ओइरो लाग्ने उनले बताए ।

जनकपुर आएका मुख्यमन्त्री नेपाली शनिबार नेपालको रेलमा यात्रासमेत गरेका छन् । ‘ड्राई रन’ गरिरहेको रेलमा जनकपुरबाट कुर्था र कुर्थाबाट जनकपुरसम्म उनले यात्रा गरेका छन् । मधेसका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा जनकपुर आएका गण्डकीका मुख्यमन्त्री नेपालीले दुई प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्द्धन, अन्तरप्रदेशीय समन्वय तथा सहकार्यका लागि भ्रमण फलदायी हुने प्रतिक्रिया दिए । मुख्यमन्त्रीसँगै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल, पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, मुख्य सचिवसहित उद्योग वाणिज्य संघका प्रतिनिधि तीनदिने मधेस भ्रमणका लागि शनिबार जनकपुर आएका हुन् । गण्डकीका मुख्यमन्त्रीसहितको टोलीलाई जनकपुरमा प्रदेश २ का उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितले स्वागत गरेका थिए ।

Inside Article Ads

गण्डकीका मुख्यमन्त्री नेतृत्वको टोलीलाई जनकपुरका विभिन्न धार्मिक स्थलसँगै धनुषाधामको समेत स्थलगत भ्रमण गराइने मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री महतोले जानकारी दिए । यसअघि मधेसका मुख्यमन्त्री राउत गत असोज ६ मा पोखरा भ्रमणमा गएका थिए । पहिलो दिन १८ सिटको विमान जनकपुर गए पनि यात्रुको चाप अनुसार बुद्ध एयरले ४२ र ७२ सिटको विमानबाट पनि उडान गर्ने बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले बताए । ‘जनकपुर–पोखराको भाडा ९ हजार १ सय तोकिए पनि न्यूनतम भाडा ४ हजार १ सयमा जनकपुरबाट पहिलो दिन १६ जना यात्रु पठाएका छौं,’ प्रमुख सिंहले भने, ‘यात्रुबाट राम्रो प्रतिक्रिया आएको छ । पहिलो दिनकै उडान प्याक भयो । यात्रुको चाप बढे प्रतिदिन उडान गर्नेछौं ।’ जनकपुरबाट भारत उत्तर प्रदेशको अयोध्या उडानका लागि बुद्ध एयरले तयारी गरिरहेको छ ।

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.