
ताप्लेजुङ — २२ फागुन २०७८
ताप्लेजुङ , स्थानीय तहको निर्वाचनका लागि करिब दुई महिना मात्र बाँकी रहँदा यसप्रति मतदाताको चासो बढ्दै गएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीमा नाम भए/नभएको हेर्न गाउँगाउँबाट मतदाता वडा कार्यालय पुग्न थालेका छन् । ‘निर्वाचन नजिकिएकाले होला टोल/टोलबाट आएर आफ्नो क्षेत्रका को/को छन् भनेर जान्न खोजेका हुन्,’ पाथीभरा याङवरक–२ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने, ‘नाम छुटेकाहरूले कसरी छुट्यो भनेर आक्रोश पनि पोख्छन् ।’ यसअघि नाम दर्ता नगराएका र गराएर पनि छुटेकाको दबाब बढी रहेको फुङलिङ–३ का वडाध्यक्ष युवराज बरालले बताए ।
उनका अनुसार नामावली प्रकाशित भएपछि आएकाहरूमध्ये कतिपयले फोटो खिचाएर पनि नाम नआएको गुनासो गरेका छन् । ‘मेरो नाम राख्नु पर्यो भनेर दबाब दिन्छन्,’ बरालले थपे, ‘हामीले प्रकाशित मात्रै गर्ने हो, यहाँबाट सच्याउन सक्दैनौं, निर्वाचन कार्यालय जान सल्लाह दिन्छौं ।’ स्थानीय तहको निर्वाचन प्रयोजनका लागि जिल्लाका वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गरिएको छ । अधिकांश वडाले कार्यालयको अगाडि लस्करै टाँसेका छन् । आयोगले नाम दुई ठाउँमा परेको भए एउटाको कायम गराउन निवेदन दिन, झूटो विवरण भए उजुरी गर्न, कुनै त्रुटि भए सच्याउन निवेदन दिने समय २२ फागुनसम्म तोकेको छ ।
मृत्यु भएकाको हकमा सूचना दिने मिति भने २३ फागुनसम्म निर्धारण गरिएको छ । यसअघि मतदाता परिचयपत्र हराएको भए निवेदन दिने समय २० फागुनसम्म तोकेको थियो । जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले निर्वाचन दिवसकै दिन सरोकारवालालाई मतदाता परिचयपत्रको विषयमा जानकारी गराएको भए पनि सुरुमा नआएको र अन्तिम समयमा निकै आएको बताइन् । करिब चार सयले हराएको निवेदन दिएको उनले बताइन् । जिल्लामा ९० हजार ७ सय ३५ मतदाता छन् ।
( कान्तिपुर दैनिक )
