Fast Nepal News

बालश्रममुक्त नगर बनाइँदै

banner single news

डोटी — १३ फागुन २०७८

डोटी , डोटीको दिपायल सिलगढी नगरपालिकालाई बालश्रममुक्त गराउन निजी क्षेत्रमा आबद्ध विभिन्न संघसंस्थाहरूले प्रतिबद्धता जनाएका छन् । दिपायल सिलगढी नगरपालिकाले निजी क्षेत्रका संघसंस्थाहरूसंँग मंगलबार गरेको अन्तरक्रिया कार्यक्रममा लिखित प्रतिबद्धता गरेको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए । डोटी उद्योग वाणिज्य संघ, डोटी च्याम्बर अफ कमर्स, होटल व्यवसायी संघ, शैलेश्वरी सार्वजनिक यातायात प्रालिसहित नागरिक संस्थाहरू नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघले लिखित प्रतिबद्धता गरेका थिए । यो आर्थिक वर्षभित्र बालश्रममुक्त नगर घोषणा गर्न नगरपालिकाले सक्रियता बढाएको छ । नगरपालिकालाई २०७० देखि बालश्रममुक्त नगर बनाउन विभिन्न कार्यक्रम गरेका थिए । होटल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले आउँदो मासिक बैठकबाट लिखित निर्णय गरेर जिल्लाभरिका होटलहरूमा बालश्रम निषेध गरिने प्रतिबद्धता जनाए ।

डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेल र डोटी च्याम्बर अफ कमसर्शकी गीता नेपालीले बालश्रमिक राख्ने सदस्यहरूको नवीकरण नगर्ने निर्णय गर्न आफूहरू तयार रहेको बताए । नगरभित्र घरेलु बालश्रमिक हटाउन चुनौतीपूर्ण रहेकाले केही दिनभित्र श्रमिक राख्ने व्यक्तिहरूको नामावलीसमेत स्थानीय सञ्चारमाध्यममा सार्वजनिक गर्न लागिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए । ‘लामो समयदेखि नगरलाई बालश्रममुक्त नगर बनाउने अभियानको अन्तिम चरणमा छौं,’ सामाजिक विकास अधिकृत जोशीले भने, ‘केही चुनौतीहरू भए पनि यसै आर्थिक वर्षभित्र कम्तीमा ४ वडा बालमुक्त घोषणा गर्ने लक्ष्य छ ।’ जोशीले निजी क्षेत्रलेसमेत मंगलबार प्रतिबद्धता गरेपछि थप हौसला बढेको बताए । पहिला होटल, यातायात व्यवसायमा बालश्रमिक अत्यधिक रहेकोमा पछिल्लो समय घट्दै गएका छन् ।

Inside Article Ads

सरकार र निजी क्षेत्रको हातेमालोले मात्र बालश्रममुक्त नगर घोषणा गर्न सम्भव रहेकाले निजी क्षेत्रको ऐक्यबद्धताले सकारात्मक सन्देश दिएको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए । सामुदायिक विकास मञ्च बाल अधिकार र शिक्षा क्षेत्रमा कार्यरत संस्था हो । २ वर्षअघि गरेको सर्भेक्षणमा दिपायल सिलगढी नगरपालिकाभित्र ६८ बालबालिका घरेलु श्रमिकका रूपमा फेला परेका थिए । नगरपालिकाले कमजोर आयस्रोत भएका परिवारलाई आयआर्जनको लागि अनुदान र बालश्रमिकहरूलाई आवासीय पठनपाठन गराउँदै आएको छ । ‘बालश्रमिकलाई अहिले पनि सिलगढीस्थित शैलेश्वरी आवासीय विद्यालयमा प्रतिव्यक्ति ८१ हजार वार्षिक दिने गरी पढाइरहेका छौं,’ सामाजिक विकास अधिकृत जोशीले भने, ‘सहिद स्मृति आवासीय विद्यालयमा १० बालश्रमिक अध्ययनरत छन् ।’ दिपायल सिलगढी नगरपालिकाले बालश्रम न्यूनीकरणसम्बन्धी कार्यविधि तयार गरेर कार्यान्वयनमा समेत ल्याएको छ ।

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.