Fast Nepal News

हट्यो सय रुपैयाँ तिरेर तुइन तर्ने बाध्यता

banner single news

हुम्ला — १३ फागुन २०७८

हुम्ला , खार्पुनाथ गाउँपालिकास्थित याचु, थाली र छिप्राका बासिन्दालाई १ सय रुपैयाँ तिरेर तुइन तर्नुपर्ने बाध्यता हटेको छ । याङ्चु बजार नजिकै कर्णाली नदीमा पुल बनेपछि स्थानीयको जोखिम मोलेर तुइन तर्नुपर्ने बाध्यता हटेको हो ।  यसअघि पुल नबन्दा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही पनि तुइन तरेरै गाउँपालिका कार्यालय जान बाध्य थिए । गाउँपालिकाकी कर्मचारी जयकली रावलले यसअघि १ सय रुपैयाँ तिरेर कार्यालय जानुपर्ने बाध्यताबाट मुक्ति पाएको बताइन् । उनका अनुसार यसअघि तुइन सञ्चालन गर्न गठन गरिएको समितिले मर्मतसम्भारका लागि यात्रुबाट १ सय रुपैयाँ लिने गरेको थियो । ‘न अब नदीमा खसौला भन्ने डर, न जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता,’ उनले भनिन्, ‘पुल बनेपछि गाउँपालिकासम्मको दूरी छोटिएको छ, आउजाउ गर्न सहज भएको छ ।

रायागाउँकी जयपुरि रावलले पुल बनेपछि तुइनमा पाएको सास्ती भुल्न थालेको बताइन् । ‘तुइन तर्दा कतिका हात काटिए, कति तुइनबाटै नदीमा खसे,’ उनले भनिन्, ‘घाँसदाउरा गर्न पनि जोखिम मोलेर तुइन तर्नुपर्ने बाध्यताबाट बल्ल मुक्ति पाइएको छ ।’ पुल बनेपछि पशुचौपायालाई चरनका लागि लैजान पनि सजिलो भएको उनको भनाइ छ । निर्वाचित भएदेखि नै पुल निर्माणका लागि पहल थालिए पनि आफ्नो कार्यकालभित्रै पुल निर्माण हुँदा खुसी लागेको अध्यक्ष रावलले बताए । ‘निर्वाचित भएदेखि नै घरबाट कार्यालय आउजाउ गर्दा तुइन प्रयोग गर्न बाध्य थिए,’ उनले भने, ‘पहल त सुरुदेखि नै थालिएको हो, तर योजना बल्ल सम्पन्न भएको छ ।’ उनका अनुसार गाउँपालिकाको वडा नं २, ३ र ४ का सेवाग्राहीलाई गाउँपालिका कार्यालय जान तुइन तर्नुपर्ने बाध्यता थियो ।

Inside Article Ads

अध्यक्ष रावल र प्रशासकीय अधिकृत शाही एउटै वडाका बासिन्दा हुन् ।पुल निर्माणका लागि कंङ्ग्री निर्माण सेवाले २०७६ सालमा ठेक्का लिएको थियो । तर सामान ढुवानीमा समस्या भएपछि पुल निर्माणमा ढिलाइ भएको कम्पनीका सञ्चालक छिरिङ लामाले बताए । ‘गाडीको सुविधा नहुँदा प्लेनबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता भयो,’ उनले भने, ‘प्लेनले पुल निर्माणका सामान ढुवानी गर्न नमान्ने गरेकाले केही ढिलाइ भयो ।’ उनले कोरोना महामारीका कारण पनि पुल निर्माणमा केही समस्या भएको जनाए । उनका अनुसार १ करोड ९८ लाख ८३ हजार रुपैयाँमा १ सय २७ मिटर लम्बाइको पुल बनेको छ ।     

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.