
काठमाडौँ — १२ फागुन २०७८
काठमाडौँ , नेरी थापाको सनसनीपूर्ण ह्याट्रिक मद्दतमा लुम्बिनी प्रदेशले ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा बुधबार ललितपुर मेयर्स ११ लाई २ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ९५ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर मेयर्सले २० ओभरमा ९ विकेट गुमाई ९२ रनमात्र बनाउन सक्यो । कञ्चन श्रेष्ठले सर्वाधिक २२ रन बनाइन् भने अस्मिना कर्माचार्य २० रन बनाएर नटआउट रहिन् ।
एपीएफविरुद्ध सुदूरपश्चिम
त्यसअगाडि बुधबार पहिलो खेलमा एपीएफले लगातार दोस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिममाथि ६ विकेटले नतिजा निकालेको थियो । एपीएफले ९० रनको झिनो लक्ष्य १६.५ ओभरमा ४ विकेट गुमाएर हात पारेको थियो । रोमा थापा सर्वाधिक २३ रन बनाएर नटआउट रहिन् । नटआउट रहेकी ममता चौधरीले १४ रन बटुलिन् । सुदूरपश्चिमबाट ईश्वरी विष्टले २ र रितु कनौजियाले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा अलआउट हुनुअगाडि ८९ रन बनाएको थियो । त्यसमा कविता कुँवरले १८ र डली भट्टले ११ रन जोडेका थिए । एपीएफबाट सोनु खड्का सर्वाधिक सफल बलर रहिन् । उनले ३ विकेट हात पारिन् । करुणा भण्डारी र सरिता मगरले समान २ विकेट लिए । एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश १ लाई हराएको थियो । सुदूरपश्चिम भने ललितपुर मेयर्सविरुद्ध विजयी भएको थियो ।
( कान्तिपुर दैनिक )
