Fast Nepal News

गाँजा खेती छाडेर अफिम

banner single news

हेटौंडा — १२ फागुन २०७८

हेटौंडा , गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अध्ययन सुरु भइरहेका बेला मकवानपुरको उत्तर–पश्चिमी क्षेत्रमा अफिम खेती मौलाउन थालेको छ । २/३ वर्षअघिदेखि सुरु भएको अफिम खेतीले गाँजालाई विस्थापित गर्ने चरणमा पुग्न थालेको छ । अफिमको मूल्य महँगो र ढुवानी गर्न पनि सहज र सरल हुने भएकाले लागूऔषध तस्करको उक्साहटमा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा अफिम खेती मौलाएको हो । गाँजा खेती नष्ट गर्न गएका प्रहरी टोली अफिम खेती देखेर अचम्ममा परेका छन् । लागूऔषध ब्युरो काठमाडौं, वाग्मती प्रदेश दंगा नियन्त्रण हेटौंडा र जिल्ला प्रहरी कार्यालय हेटौंडाको संयुक्त प्रहरी टोली गत साता राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा खेती नष्ट गर्न गएका थिए । तर सोचेअनुसार गाँजा खेती नभेटिएको एक प्रहरी निरीक्षकले बताए । ‘अहिलेकै वर्ष अफिम खेतीलाई नियन्त्रण गर्न सकिएन भने अर्को वर्ष अफिमले गाँजा विस्थापित गर्ने देखियो,’ उनले भने । ५० जनाको प्रहरी टोलीले राक्सिराङ गाउँपालिकाका ४, ५, ७, ८ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको ७ नम्बर वडामा पुगेको थियो ।

टोलीले तीन दिनमा २५ बिघामा लगाइएको गाँजा खेती र २३ बिघामा लगाइएको अफिम खेती नष्ट गरेको हो । कृषकहरूले गाँजा पाकेर भित्र्याइसकेका छन् । अधिकांशले बिक्री पनि गरिसकेका छन् । तर अफिम भर्खरै फुल्दै छ । राक्सिराङ गाउँपालिकाको साविकको खैराङ, राक्सिराङ र सरिखेत पलासे गाविसका अधिकांश भाग अफिम खेतीले ढाकेको छ । अफिम खेती गर्न गाँजाको जस्तो ब्याँड राख्न पर्दैन । तोरीजस्तै खेतबारीमा छरेपछि आफैं उम्रने र फुल्ने गर्छ । अफिम खेती गर्न गाँजालाई भन्दा बढी चिस्यान चाहिन्छ । राक्सिराङ पन्जनीका वीरबहादुर दोङले भने, ‘गाउँका सबैले अफिम खेती गरेका छन् ।’ साविकको राक्सिराङ गाविसमा सबैभन्दा धेरै अफिम खेती गरिएको छ । ‘५ वर्षदेखि अफिम खेती गर्न थालिएको हो । तराईबाट आएको मिस्त्री टोलीले अफिमको बीउ ल्याएर छरेका थिए । त्यही बेलादेखि यहाँ अफिम खेती सुरु भएको हो,’ एक स्थानीयले भने, ‘राक्सिराङबाटै खैराङ, सरिखेत, भार्ता, डाँडाखर्क र गोगनेमा अफिम खेती विस्तार भएको हो ।’ भदौ अन्तिमदेखि असोज पहिलो सातासम्ममा खेतबारीमा अफिमको बीउ छर्ने गरिन्छ । माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म अफिमको फूल फुल्छ ।

Inside Article Ads

त्यही फूललाई चिरेर चोप निकालेर संकलन गर्ने गरिन्छ । एक कट्ठा खेतबारीमा लगाएको अफिमको बोटबाट एक केजीभन्दा बढी अफिम उत्पादन हुन्छ । गतवर्ष अफिम प्रतिकेजी २ लाख ५० हजार रुपैयाँमा बिक्री भएको स्थानीयले जनाए । अफिम खेती गर्न तस्करहरूले जग्गावाला कृषकलाई २५ प्रतिशत रकम पेस्की दिन्छन् । गाँजा खेती र ओसारपसारमा संलग्न राक्सिराङ र कैलाश गाउँपालिकाका ३ सय जनाभन्दा बढी मुलुकका विभिन्न कारागारमा छन् । लागूऔषध नियन्त्रण ऐन २०३३ मा अफिम सेवन गर्नेलाई एक वर्ष कैद, २५ बोट अफिम लगाउनेलाई एक वर्षदेखि ३ वर्षसम्म कैद, २५ बोटदेखि माथि लगाउनेलाई ३ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । अफिम २५ ग्रामसम्म फेला परेमा ५ देखि १० वर्षसम्म कैद, २५ ग्रामदेखि १०० ग्रामसम्म फेला परेमा १० देखि १५ वर्षसम्म कैद र १०० ग्रामदेखि माथि फेला परेमा १५ वर्षदेखि जन्मकैदसम्म गर्न सक्ने कानुनी व्यवस्था भएको अधिवक्ता मदन दाहालले बताए । प्रहरीले चालु आवमा राक्सिराङ र कैलाश गापामा २ सय ९२ बिघामा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिसकेको छ । राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको अफिम तत्काल नियन्त्रण नगरे विकराल रुप लिने प्रहरीको भनाइ छ ।

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.