
मस्को — १२ फागुन २०७८
मस्को , रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षाका विषयमा कुनै पनि सम्झौता नहुने बताएका छन् । ‘प्रत्यक्ष र इमानदार वार्ताका लागि रुस सधैं तयार छ,’ आफ्नो देशका सेनाप्रति पूर्ण विश्वास रहेको बताउँदै पुटिनले भने । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘रुसी अतिक्रमण सुरु भएको’ बताएपछि एक भिडियो सन्देश जारी गर्दै रुसी राष्ट्रपति पुटिनले उक्त प्रतिक्रिया आएको हो । रुसले सोमबार राति पुर्वी युक्रेनका दुई क्षेत्र डोनेत्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो । त्यसलगत्तै पुटिनले ती क्षेत्रमा रुसी सेना खटाएका थिए ।
रुसी सेना युक्रेनको सीमातर्फ अघि बढिरहेका जनाइएको छ । रुसी कदमको कडा विरोध गर्दै पश्चिमा देशहरूले कयौं प्रतिबन्धहरू घोषणा गरेका छन् । रुसले स्वतन्त्र राज्यको मान्यता दिएका डोनेत्स्क र लुहान्सक रुसको समर्थन प्राप्त विद्रोहीको पकड रहेका क्षेत्र हुन् । ती क्षेत्रमा सन् २०१४ देखि युक्रेनी सेना र विद्रोहीबीच लडाइँ जारी छ । रुसको माथिल्लो सदनले पूर्वी युक्रेनमा सेना पठाउन पुटिनलाई अनुमति दिएपछि राष्ट्रपति बाइडेनले प्रतिक्रिया दिएका हुन् । ‘हामीले रुसी सरकारलाई पश्चिमा अर्थतन्त्रबाट अलग गरिदिएका छौं,’ पुटिनले भने । आफ्ना सैनिकले ती क्षेत्रमा ‘शान्ति कायम राख्ने’ पुटिनको भनाइलाई अमेरिकाले ‘बकवास’ भनेको छ ।
युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट रुसले सीमा क्षेत्रमा हतियारसहित डेढ लाख सेना परिचालन गरेको छ । त्यस्तै, छिमेकी देश बेलारुसमा पनि उसका ३० हजारभन्दा बढी सेना तयारी अवस्थामा छन् । तर युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको रुसको दाबी छ । रुसले युक्रेनलाई नाटोको सदस्यता नदिन तथा पूर्वी युरोपमा नाटोको बिस्तार रोक्न माग गर्दै आएको छ । यसैबीच, युक्रेनको विदेश मन्त्रालयले आफ्ना सबै नागरिकलाई रुस छाड्न आग्रह गरेको छ । त्यस्तै, युक्रेनी सेनाले १८ देखि ६० वर्षसम्मका जगेडा सैनिकलाई तत्काल अधिकतम एक वर्षका लागि सेवाका लागि आह्वान गरेको बीबीसीले उल्लेख गरेको छ ।
( कान्तिपुर दैनिक )
