Fast Nepal News

कलिलैमा प्रेम, बिहेअगावै आमा

banner single news

नेपालगन्ज — १२ फागुन २०७८

नेपालगन्ज , राप्तीसोनारी गाउँपालिका–६ की १७ वर्षीया किशोरी र किशोरबीच मायाप्रेम बस्यो । उनीहरूले भागी विवाह गर्ने निर्णय गरे । प्रहरीमा उजुरी परेपछि खोजतलास गर्दा उनीहरू भेटिए । दुवै पक्षबीच छलफल भयो । २० वर्ष नपुेगकाले विवाह रोकियो । किशोरकिशोरीलाई अभिभावकको जिम्मा लगाइयो । अहिले किशोरी तीन महिनाकी गर्भवती भएकाले समस्या बल्झिएको छ । राप्तीसोनारी–६ कै एक १८ वर्षीया किशोरीले बच्चा जन्माइसकेकी छन् । तर, विवाह भने भएको छैन । किशोरकिशोरीको उमेर नपुगेका कारण विवाह हुन नसकेको हो । तर, उनीहरूबीच शारीरिक सम्बन्ध हुने भएकाले विवाहअगाडि नै बच्चा जन्मिने गरेको छ । किशोरकिशोरी आ–आफ्नै घरमा बस्दै आएका छन् । राप्तीसोनारीमात्र होइन, बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा बिहेवारी नगर्दै बच्चा जन्माउने गरेका घटना प्रशस्तै छन् । सरकारले २० वर्षमुनि उमेर समूहका किशोरकिशोरीलाई विवाह गर्न रोक लगाएको छ ।

तर, कम उमेरमै किशोरीहरूले बच्चा जन्माउने र २० वर्ष पुगेपछि बिहे गर्ने भन्दै घरजम गरेर बसेका छन् । जसका कारण स्थानीय तहमा बालविवाहको अभिलेख कम देखिने गरेको छ । प्रहरीमा छलफल गर्दा उमेर पुगेपछि मात्रै विवाह गर्ने सर्तको कागज गराएर दुवैलाई अभिभावकको जिम्मा लगाइने गरिएको छ । ‘कम उमेरमै माया–प्रेममा फस्ने र घरबाट भाग्ने गरिएका घटना थुप्रै छन् । प्रहरीमा छलफल हुँदा अभिभावकको जिम्मा लगाइन्छ । तर, उनीहरूबीच सम्बन्ध कायमै रहेका कारण बिहेअगावै बच्चा जन्माउने घटना परम्पराजस्तै बनिसकेको छ,’ राप्तीसोनारीका अगुवा हेमन्त चौधरीले भने, ‘यो समस्या समाजमा विकराल बनिसकेको छ ।’ सरकारले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कानुन ल्याएको छ । बालविवाह गर्न लगाउने अभिभावकलाई पनि कारबाही हुने व्यवस्था छ । तर, किशोरकिशोरी आफैंले बालविवाह गर्न थालेपछि समस्या भएको हो । कतिपयले कानुनी कारबाहीबाट जोगिन जन्मदर्ता मिति बढाउने गरेका छन् । बालविवाह नियन्त्रणका लागि नेपालमा साढे पाँच दशकअघि कानुन आएको हो ।

नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणले बालविवाहको अवस्था भयावह देखाएको छ । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार बालविवाह गर्नेमध्ये १० प्रतिशतको हाराहारीमा १५ वर्ष नपुग्दै विवाह हुने गरेको देखिएको छ । प्रतिवेदन अनुसार बालविवाहका लागि नेपाल एसियामा तेस्रो स्थानमा पर्छ । बालविवाह, बालश्रम, कमजोर स्वास्थ्य अवस्था, शिक्षामा पहुँच जस्ता कुरामा पाकिस्तान र आफगानिस्तानभन्दा नेपालमा सुधार छ । जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसी) मधुसूदन न्यौपानेले कम उमेरमा बिहे गरेका घटना दैनिक आउने गरेको बताए । ‘१५/१७ वर्षका किशोरकिशोरी बिहेका लागि भागेका घटना पनि आउँछन् । हामीले उनीहरूलाई अभिभावकको जिम्मा लगाइदिन्छौं,’ उनले भने, ‘पहिले अभिभावकले बिहे गरिदिन्थे । अहिले भागेर बिहे गर्ने र कम उमेरमै बच्चा जन्माउने घटना बढिरहेका छन् ।’ उमेर नपुगेर बिहे गर्नु हुँदैन भन्ने कुरा सबैजसोलाई थाहा छ । तर, पढ्दै गरेका किशोरकिशोरीले जानाजान बालविवाह गर्न थालेको बालविवाहविरुद्ध अभियानमा लागेका नगरस्तरीय बाल क्लब सञ्जालका निवर्तमान अध्यक्ष साहिल अन्सारीले बताए ।

Inside Article Ads

‘कानुनलाई चुनौती दिंदै बालविवाह गर्नेको संख्या बढेको छ,’ उनले भने, ‘सानो उमेरमा विवाह गरेका किशोरीहरू गर्भवती हुँदा ज्यान नै जोखिममा पर्ने सम्भावना बढ्दो छ ।’ पोषकतत्त्व भएको खानेकुराको कमी, आराम र परिवारबाट पाउनुपर्ने माया नपाएका कारण आमा र कम तौल भएका शिशुको मृत्यु हुने गरेको छ । बालविवाहका कारण मातृ र नवजात शिशु मृत्यु घट्न सकेको छैन । जसका कारण सानो उमेरमा गर्भवती हुने किशोरी, शिशु र मातृ मृत्यु दर घटाउन समस्या भएको हो । कम उमेरका आमाहरूमा बढीजसो हेमोग्लोविनको समस्या देखिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत शोभा शाहले कम उमेरमै बिहेवारी गर्ने घटनाहरू आउने गरेको बताइन् । ‘सानो उमेरमै बिहे गर्नेलाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउँछौं,’ उनले भनिन्, ‘अहिले सानै उमेरमा बिहे गर्न घरबाट भागेका घटना धेरै आउन थालेका छन् ।’ बालविवाह गराउनेलाई १० हजार रुपैयाँ जरिवानादेखि तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था हुँदा पनि नियन्त्रणमा समस्या देखिएको छ । धार्मिक संस्कार र परम्परागत कारणले पनि बालविवाह नियन्त्रणमा आउन नसकेको सरोकारवाला व्यक्तिहरू बताउँछन् ।

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.