
पर्सा — १२ फागुन २०७८
पर्सा , सञ्चालनमा आएको ४ वर्ष नबित्दै वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा धमाधम पूर्वाधार थपिँदै छ । मुलुककै पहिलो यो आईसीपी २०७४ चैत २४ देखि सञ्चालनमा आएको हो । त्यसयता ९ वटा ठूला पूर्वाधार थप भएको छ । थप ४ वटा पूर्वाधार निर्माण हुने क्रममा छन् । चौकी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीका अनुसार ४ वर्षयता चौकी परिसरमा १ हजार १ सय ४५ वर्गमिटरको गोदाम, ३ सयदेखि ३ सय ५० सम्म मालवाहक ट्रक अट्ने क्षमता भएको पार्किङ, ४ सय ५० वर्गमिटरको खुल्ला सेड निर्माण भएको छ । त्यसैगरी, क्वारेन्टाइन, डोरमेटिक र कस्टम क्लियरिङ भवनमा १/१ तल्ला थप, कर्भस्टोन, ३ किचेन सेड, सेक्युरिटी ब्यारेक र गेटहाउस निर्माण भएका छन् । दुई सयदेखि ३ सयसम्म कार अट्ने क्षमता भएको अर्को पार्किङस्थल, नेपाल गेटदेखि पदम रोडसम्म १ किमि सडक विस्तार गरिँदै छ । हाल पदम रोडबाट चौकीको मूल गेटसम्म आएको सडक साँघुरो महसुस गरिएकाले सडकलाई पूर्वतर्फ ७ मिटरको दरले विस्तार गर्न लागिएको हो । यसबाहेक सेन्ट्री बस्ने ४ वटा हाई सेक्युरिटी पोस्ट, नयाँ पार्किङस्थलको खुल्ला सेडसमेत निर्माण हुने भएको छ ।
यसका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको उनले बताए । ‘चौकी सञ्चालनमा आएपछि जुन–जुन पूर्वाधारको अभाव महसुस गरियो, त्यो क्रमशः निर्माण गरिँदै छ,’ उनले भने, ‘अझै पनि चौकीमा पार्किङस्थल र वेयर हाउसको अभाव छ । त्यो पनि निर्माण हुन्छ ।’ हालसम्म निर्माण भइसकेका थप पूर्वाधारमा मात्रै करिब ३० देखि ४० करोड रुपैयाँ लगानी भइसकेको ज्ञवालीले बताए । भारत सरकारले नेपाल र सीमापारि भारतीय भूमिमा एकैखाले संरचना भएको एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरेको थियो । चौकी निर्माणकै समयमा वीरगन्जका उद्योगी व्यवसायी तथा आयात निर्याकर्ताहरूले चौकी परिसरमा थुप्रै पूर्वाधार अभाव रहेको टिप्पणीसमेत गरेका थिए । नेपालले चौकी उपहारस्वरूप पाएकाले त्यतिबेला नेपाली पक्षले निर्माण कार्यमा आफ्नो सुझाव वा हस्तक्षेप गर्न पाएको थिएन ।
यो परियोजना भारतीय ठेकेदार कम्पनी केएस सफ्टनेट सोल्युसन्स र नागार्जुन कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा निर्माण गरेका थिए । एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टिन, सीमा सुरक्षाजस्ता संस्था आउनाले मानवीय तथा मालसामानको अन्तर्देशीय आवतजावतलाई झन्झटरहित बनाउने प्रयासस्वरूप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आईसीपी निर्माण गरेको हो । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयातनिर्यात कारोबार आईसीपीबाटै हुने भएकाले यहाँ हुने पूर्वाधार तथा सुविधाले मुलुककै आयातनिर्यात व्यापारमा ठूलो महत्त्व राख्ने वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘वीरगन्ज आईसीपी नेपालकै ठूलो र महत्त्वांकाक्षी पूर्वाधार हो,’ उनले भने, ‘यसलाई समयानुकूल परिमार्जित गर्दै नलगे आयातनिर्यातकर्तादेखि सबै सरोकारवालालाई समस्या हुन्छ ।’
( कान्तिपुर दैनिक )
