Fast Nepal News

युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह

banner single news

काठमाडौँ — ११ फागुन २०७८

काठमाडौँ , रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेका छन् । रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ । दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको छ । मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ ।

साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरिन्छ ।’ युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले आवश्यक परेमा बर्लिनस्थित राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईं र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न अनुरोध गरेको छ । युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले भने युक्रेनमा झन्डै २ सय जना नेपाली रहेको बताएका छन् ।

Inside Article Ads

उनका अनुसार युक्रेनलाई ट्रान्जिट बनाउनैका लागि आएका नेपालीमध्ये धेरैजसो विद्यार्थी भिसामा र कतिपय मानव तस्करीको चंगुलमा परेर ओडेसा, किभ, खार्कोभ, लुज्क, बेलिचेर्कोभ आदि सहरमा बसेका छन् । वैदेशिक रोजगार विभागको २०७७/७८ को तथ्यांकअनुसार व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गत वर्ष युक्रेन जानेमा ४७ पुरुष र ६ जना महिला रहेका छन् । तर संस्थागत रूपमा स्वीकृति लिएर जानेको संख्या भने शून्य छ । युक्रेनबाट सीमावर्ती रोमानिया, हंगेरी, स्लोभाकिया, पोल्यान्ड हुँदै मध्य युरोपमा जाने ‘मानव तस्करी रुट’ प्रचलित छ ।     

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.