
काठमाडौँ — ११ फागुन २०७८
काठमाडौँ , नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)को केन्द्रीय कार्यालय परिसर अगाडि तीन महिनादेखि एउटा बस राखिएको छ । बाहिरबाट हेर्दा यो बस लामो दूरीमा प्रयोग हुने यात्रुवाहक बस जस्तो छ । तर केही भिन्न छ । बसको अगाडिपट्टिको सिसाका दुवै छेवमा दक्षिण कोरिया र नेपालको झन्डा अंकित स्टिकर छ । बसको अघिल्लो भागमा ‘नेपाल–कोरिया घुम्ती सूचना पहुँच केन्द्र’ लेखिएको छ । यो बस आईटीसम्बन्धी तालिम दिने घुम्ती सूचना पहुँच केन्द्र हो । आईसीटी बस भए पनि यसलाई नास्टले घुम्ती सूचना पहुँच केन्द्र(मोबाइल आईएसी) भनेको छ । दक्षिण कोरिया सरकारको औपचारिक विकास सहयोगमा नेसनल इन्फर्मेसन सोसाईटी एजेन्सी (एनआईए) मार्फत् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)लाई यो घुम्ती सूचना पहुँच केन्द्र हस्तान्तरण गरिएको हो । यो बस कहिलेबाट सञ्चालन हुन्छ, अन्योलमा छ ।
इमेल, इन्टरेनटदेखि आईटीसम्बन्धी विविध तालिमहरु देशका विभिन्न स्थानमा पुगेर युवाहरुलाई दिने भनिएको यो बस कहिलेबाट सुरु हुने ठेगान छैन । बसभित्र आईटीसँग सम्बन्धित विभिन्न उपकरण र कम्प्युटर छन् । २५ जना मानिसहरु यही बसेर तालिम लिन सक्छन् । कर्मचारी भर्ना ढिलो हुँदा ‘मोबाइल आईएसी’ सञ्चालनमा ढिलो भएको नास्टले जनाएको छ । यस्तै, एनआईएले नास्टको टेक्नोलोजी भवन भित्रै ‘सूचना पहुँच केन्द्र’ स्थापना गरिदिएको छ । । ‘डिजिटल विभेद’ घटाउन मुख्य भूमिका खेल्ने भनिएको यो केन्द्र गत कात्तिक २५ गते विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमायाकुमारी यादवले गरेकी थिइन् । सूचना प्रविधिमा सर्वसाधरणको पहुँच विस्तार र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो केन्द्रको स्थापना गरिएको हो ।
तर केन्द्रबाट सेवा लिन आउने कमै नागरिक छन् । केन्द्रमा तालिम लिन आउने र अनलाइन जुम कार्यक्रम मात्रै हुँदै आएको छ । सूचना प्रविधि केन्द्रमार्फत अनुसन्धानकर्ताहरुलाई अनलाइन जर्नलको सेवा उपलब्ध गराउने स्थान पनि रहेको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले बताए । कसैले कुनै नयाँ आइडिया डेभलप गरेर आईटीसम्बन्धीको सेवा आवश्यक पर्दा केन्द्र मार्फत गर्न सकिन्छ । तर,बिरलै यसको प्रयोग हुने गरेको छ । केन्द्रमा इन्टरनेट सुविधाको मात्रै नभएर, आईटीसम्बन्धी पूर्वाधारहरु पनि छन् । सूचनाको पहुँच सबै तहका मानिसहरुलाई उपलब्ध गराउँदै ‘डिजिटल ग्याप’ हटाउने भनिए पनि कार्यान्वयन पक्ष फितलो छ । हाल यो केन्द्रमा प्रविधि संकायका प्रमुख डा.रवीन्द्र ढकालको नेतृत्वमा एक प्राविधिक अधिकृत, एक सहायक अनुसन्धान अधिकृत र एक आईटी विज्ञसहित ४ जना कर्मचारी छन् । यो केन्द्रमा आईटी एजुकेसन रुम, सर्भर रुम, आईसिटी कम्प्लेक्सलगायत छन् । नेपालमा आउने नयाँ प्रविधिको बारेमा पनि यही केन्द्रमार्फत जानकारी दिने भनिएको छ । तर सीमित जनशक्तिका कारण यो सम्भव नहुने ढकालको भनाइ छ ।
कोरियाको विज्ञान मन्त्रालय न्तर्गतको नेसनल इन्फरमेसन एजेन्सीको सहयोगमा सन् २००२ देखि विश्वका विभिन्न मुलुकहरुमा आईएसी निर्माण गर्दै आएको छ । नास्टले २०१९मा एनआईएलाई प्रस्ताव गरेको थियो । सन् २०२०मै यो केन्द्र सञ्चालन हुने तरखरमा थियो । तर कोरोना महामारीका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ । सूचना पहुँच केन्द्र निर्माणमा करिब ६ करोड खर्च भएको ढकालले बताए । अपांगमैत्रीसमेत रहेको यो केन्द्रबाट हालसम्म ३ सयभन्दा बढीले सेवा लिएको ढकालले बताए । अधिकांशले जुम मिटिङ र अनलाइन सेमिनारका लागि सेवा लिएका थिए । नास्टले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आईसीटीको रिसोर्स पर्सन पनि राख्ने तयारी गरेको छ ।
( कान्तिपुर दैनिक )
