Fast Nepal News

झ्यालबास डेढगाउँ सडक शिलान्यास

banner single news

पूर्वी नवलपरासी — ११ फागुन २०७८

पूर्वी नवलपरासी, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले देशकै गौरवको आयोजना मानिएको त्रिवेणी पोखरा कोरला सडकअन्तर्गत डेढगाउँ झ्यालबास सडकको शिलान्यास गरेका छन् । पूर्वी नवलपरासीको दुर्गम डेढगाउँ झ्यालबास जोड्ने १४ किलोमिटर सडकखण्डको एक कार्यक्रमका बीच मंगलबार शिलान्यास गरिएको हो । प्रदेश सरकारको ५१ करोडको बजेटबाट निर्माण थालिएको १४ किलोमिटर पक्की सडक आगामी ३० महिनामा सकिने पूर्वाधार कार्यालयले जनाएको छ । सडकको दुवै साइडमा नाला निर्माण हुने र कालोपत्र ७ मिटर फराकिलो हुनेछ ।

सडकको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री नेपालीले डेढगाउँ झ्यालबास सडकखण्ड देशकै गौरवको आयोजना मानिएको त्रिवेणी, पोखरा, कोरला सडकअन्तर्गतको मुख्य भाग भएकाले यो सडक निर्माणले देशकै विकासमा टेवा पुग्ने बताए । प्रदेश सरकारले यो सडकलाई गौरवको योजना मानेर प्रथामिकतामा राखेकाले समयमै काम सम्पन्न हुने उनले बताए । आर्थिक, धार्मिक र पर्यटनका हिसाबले महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री नेपालीले समग्र प्रदेशको विकासमा यो सडक महत्त्वपूर्ण हुने दाबी गरे । पूर्वी नवलपरासीको पहाडी डेढगाउँदेखि दक्षिणतर्फको झ्यालबास हुँदै महेन्द्रराजमार्गमा जोडिने यो सडक प्रदेशको विकासमा कोशेढुंगा सावित हुने उनको भनाइ छ ।

Inside Article Ads

कावासोतीको डन्डादेखि उत्तरमा पर्ने झ्यालबास, रुचाङ, डेढगाउ हुँदै तनहु मानपुर फुला सडकमा जोडिएर तनहुको खैरेनी हुँदै पोखरा पुग्ने यो सडकको काम भइरहेको छ । पूर्वी नवलपरासीलाई प्रदेश राजधानी पोखरा जोड्ने यो सडक सबैभन्दा छोटो दुरीको हुने छ । त्रिवेणी दुम्कीवास सडक पनि महेन्द्रराजमार्ग हुँदै यहि सडकमा जोडिने छ । यो सडक पूर्वी नवलपरासीको महेन्द्रराजमार्ग हुँदै उत्तरतर्फको पहाडी सडक संजालसँग जोडिने छ । महेन्द्रराजमार्ग हुँदै पूर्वी नवलपरासीको दुर्गम पहाडी भाग जोड्ने यो पहिलो पक्की सडक हुने छ ।     

( कान्तिपुर दैनिक )

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.