
बिर्तामोड — ११ फागुन २०७८
बिर्तामोड , विद्यार्थीले स्वच्छ पानी पिउन भनेर बिर्तामोड नगरपालिकाले गत वर्ष एक हजार लिटर क्षमताको ट्यांकी, फिल्टर मेसिन र आवश्यक सामग्रीका लागि बिराट आधारभूत विद्यालयलाई एक लाख ७५ हजार रुपैयाँ निकासा दियो । रकम निकासापछि नगरपालिकाको दबाबमा विद्यालयले खानेपानी ट्यांकी र फिल्टर मेसिन खरिद गर्यो । उपकरण खरिदलगत्तै जडान गर्नुपर्ने हो । तर, विद्यालयले खानेपानी ट्यांकी र फिल्टर मेसिन जडान गरेन । खानेपानीका उपकरण जडान नगरी स्टोर रुममा थन्काएर राखेको छ । ट्यांकी र फिल्टर मेसिन थन्काएको एक वर्ष नाघिसक्यो । विद्यार्थी पुरानै ट्युवेलको पानी पिउन बाध्य छन् । गत वर्ष नै नगरपालिकाले विद्यालयलाई ‘प्रविधिमैत्री कक्षा व्यवस्थापन’ शीर्षकमा १ लाख ६० हजार रुपैयाँ निकासा दिएको थियो । उक्त रकमबाट एलइडी, प्रोजेक्टर, ल्यापटप, इन्टरनेट जडान गर्नुपर्ने हो । तर, विद्यालयमा इन्टरनेट छैन् । ल्यापटप छ/छैन विद्यालयका शिक्षकलाई थाहा छैन । शिक्षकहरूले प्रोजेक्टर देखेका छैनन् । कक्षा १ र विशेष कक्षामा एक/एक वटा गरी दुइटा एलइडी छन् । गत वर्ष नै खरिद गरी कक्षा कोठाको भित्तामा झुन्ड्याइएका एलइडीबाट वर्ष दिनमा एक दिन पनि कक्षा सञ्चालन नगरेको शिक्षक रंगलाल न्यौपानेले बताए ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले विद्यालयलाई एक वर्ष अघि एउटा स्मार्ट बोर्ड उपलब्ध गराएका छन् । साना कक्षाका विद्यार्थीलाई स्मार्ट बोर्डबाट पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । तर, एक वर्षमा एक दिन पनि स्मार्ट बोर्डबाट पठनपाठन गराइएको छैन । बरु भित्तामा यसै अड्याएर राखिएको स्मार्ट बोर्ड झरेर बालविकासका विद्यार्थीलाई घाइते बनाउँछ कि भन्ने डरले शिक्षिका अम्बिका बजगाई र धनमाया संग्रौलाले एकछिन कक्षाकोठा छोड्दैनन् । उनीहरूले शौचालय जाँदा पनि पालो गर्छन् । विद्यालयमा भौतिक निर्माणका काम भइरहेका छन् । नगरपालिकाले विद्यालय तथा शैक्षिक व्यवस्थापनका लागि विभिन्न शीर्षकमा लाखौं रुपैयाँ निकासा दिएको छ । तर, प्राप्त रकम कहाँ, कसरी खर्च हुँदै छ भनेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नै जानकारी छैन् । विद्यालयले बर्सेनि खर्च विवरण सार्वजनिक गर्नुपर्ने हो । तर, विद्यालयले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ गरी दुई वर्षको खर्च विवरण सार्वजनिक गरेको छैन् ।
व्यवस्थापन समिति अध्यक्ष कृष्ण विमलीले समेत प्रअ बाँस्कोटाकै कारण विद्यालय समस्यामा परेको बताएका छन् । समितिको राय–सुझाव नमान्ने, नियमित विद्यालय नआउने, आफूखुसी निर्णय गर्ने गरेकाले विद्यालयमा एकपछि अर्को समस्या थपिएको विमलीको भनाइ छ । उक्त विद्यालयका पूर्वप्रअसमेत रहेका अध्यक्ष विमलीले भने, ‘हाम्रो कुरै सुन्दैनन् । आफूखुसी गर्छन् । हिसाब सार्वजनिक गर्नु भनेर कति पटक भनिसके, गर्दै गर्दैनन् ।’ थपे, ‘विद्यालय चलाउने त प्रअले नै हो । हामी समितिले त समन्वय मात्र गरिदिने हो । त्यसमा पनि हाम्रो राय–सुझाव नै नमानिदिँदा के गर्नु ?’ प्रअ बाँस्कोटाले भने यस विषयमा केही नबोल्ने बताए ।
( कान्तिपुर दैनिक )
