
काठमाडौँ — ११ फागुन २०७८
काठमाडौँ , अमेरिकी अनुदान परियोजना संसद्बाट अनुमोदन गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँग संवाद बढाएका छन् । मंगलबार रातिसम्म सरकारी निवास बालुवाटारमै विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका देउवाले बुधबार बिहानैदेखि संवादलाई थप गति दिएका हुन् । प्रधानमन्त्रीको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहानै सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि नेकपा एमालेका अध्यक्ष ओलीलाई निवासमै पुगेर भेटेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता सत्ता साझेदार दलकै अवरोधका बीच सरकारले संसद्मा टेबल गरिसकेको छ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल सुरु हुँदैछ ।
( कान्तिपुर दैनिक )
