Fast Nepal News

युक्रेनमा झन्डै २ सय नेपाली

banner single news

काठमाडौँ — ११ फागुन २०७८

काठमाडौँ , पूर्वी युरोपमा पर्ने युक्रेन र शक्तिसम्पन्न राष्ट्र रुसबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेका नेपालीको अवस्था तथा घर फिर्ती पहलबारे सरोकार बढेको छ । रुसले सोमबार मात्रै युक्रेनका दुई प्रान्त दोनेत्सक र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गरेपछि भारतले भने युक्रेनमा रहेका आफ्ना नागरिक फर्काउन मंगलबारबाटै पहल थालेको छ ।  ‘द्वन्द्वरत दोनेत्सक र लुहान्स्क नेपालीको बसोबास रहने सहरबाट निकै दूरीमा पर्छ,’ युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले कान्तिपुरसँग फोनमा भने, ‘युक्रेनका विभिन्न सहरमा हामी ३८ जना नेपाली स्थायी रूपमा बसोबास गर्दै आएका छौं, यसबाहेक दुई सयजति नेपाली युवायुवती युक्रेनलाई युरोप छिर्ने ‘ट्रान्जिट’ बनाएर लुकीछपी बस्दै आएको थाहा पाएका छौं ।’ म्याग्दी मूल घर भएका मल्ल ३८ वर्षयता युक्रेन बस्दै आएका छन् । उनका अनुसार युक्रेनलाई ट्रान्जिट बनाउनैका लागि आएका नेपालीमध्ये धेरैजसो विद्यार्थी भिसामा र कतिपय मानव तस्करीको चंगुलमा परेर ओडेसा, किभ, खार्कोभ, लुज्क, बेलिचेर्कोभ आदि सहरमा बसेका छन् ।

के रुस युक्रेनमाथि आक्रमण गर्न चाहन्छ ?

म्यानपावर वा एजेन्टलाई ७ लाखदेखि १५ लाख रुपैयाँसम्म तिरेर आएका उनीहरू कानुनी रूपमा गैरआवासीय नेपाली संघका आधिकारिक प्रतिनिधिसँग सम्पर्कमै आउन चाहँदैनन् । ‘कतिपय नेपाल सरकारको नो अब्जेक्सन लेटरसहित विद्यार्थी भिसामा आउँछन्, गाउँतिरको कलेजमा भर्ना हुन्छन् । भिसा थप्दै नियमानुसार बढीमा एक वर्ष टेम्पोररी रेजिडेन्स (टीआर) लिएर बसेका हुन्छन्,’ मल्लले भने, ‘कसैले यतै बिहे गर्छन्, कोही अरू युरोपेली देश छिर्छन्, कति भने अलपत्रै देश फर्कन्छन् ।’ युक्रेनको दक्षिण–पश्चिम सहर ओडेसामा बस्दै आएका मल्लका अनुसार यहाँबाट दोनेत्सक र लुहान्स्क झन्डै एक हजार किलोमिटर टाढा छ । यहाँबाट युक्रेनको राजधानी किभ पुग्नै पनि ५ सय किलोमिटर दूरी तय गर्नुपर्छ ।

पूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यता

सन् २०१४ अघिसम्म युक्रेनको कूटनीतिक मामिला रुसको मस्कोस्थित नेपाली दूतावासले हेर्ने गरेकामा रुस–युक्रेन तनाव बढेपछि नेपाल सरकारले युक्रेनी सहप्रमाणीकरणको जिम्मा जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई सुम्पेको छ । ‘युक्रेनमा रहेका सबै नेपाली सुरक्षित छन् र पछिल्लो घटनाक्रमका कारण पनि कठिनाइ नउब्जिएको जानकारी पाएको छु,’ बर्लिनस्थित राजदूत रामकाजी खड्काले भने । युरोप छिर्ने ‘ट्रान्जिट’ बनाएर युक्रेन बस्ने नेपालीको संख्या डेढ सयजति हुन सक्ने उनले पनि जनाउ दिए । युक्रेनको गैरआवासीय नेपाली संघले दिएको सूचनाका आधारमा राजदूत खड्काले मंगलबार अपराह्न परराष्ट्र मन्त्रालयलाई युक्रेन वस्तुस्थितिको अपडेट गराइसकेका छन् । युक्रेनमा ४२ वर्षयता बस्दै आएका अर्का गैरआवासीय नेपाली जयन्त नेपालका अनुसार १९९१ मा सोभियत संघ टुक्रिएपछि अलग बनेको युक्रेनमा २०१३ मा जनविद्रोह भएको थियो । त्यसपछि रसियन प्रभुत्व रहेको दोनेत्सक र लुहान्स्क क्षेत्रमा छिटफुट भिडन्त भइरहने क्रममा पछिल्लो ८ वर्षमा १४ हजार स्थानीयको ज्यान गइसकेको छ ।

Inside Article Ads

दोनेत्सक र लुहान्स्कमा रहेकामध्ये झन्डै ८५ प्रतिशत बासिन्दा रसियन मूलका हुन्, जो पहिल्यैदेखि उग्रवाद पक्षधर र युक्रेनबाट अलग्गिन चाहने पक्षमा जोडिएका थिए । ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) ले युक्रेनलाई सदस्यता दिन नपाउने भन्दै राखेको सर्त अमान्य भएपछि युक्रेनी भूमिमा विद्रोहीलाई उचाल्न र आफ्नो प्रभुत्व राख्न थालिएको हो, त्यसमा पनि युक्रेनमा रहेको अमेरिका प्रभावका सामु रसियाको हार भएपछि यो स्थिति आइलाग्यो,’ नेपालले भने, ‘यो सर्तमा हार खाएपछि समस्याग्रस्त क्षेत्रमा हस्तक्षेप गर्दै रुसले सेना परिचालन गरेको हो ।’ उनका अनुसार युक्रेनमा १० वर्षअघिसम्म नेपाली विद्यार्थी मेडिकल वा इन्जिनियरिङ पढ्न आउने गरे पनि अहिले म्यानपावरले चर्को पैसा असुलेर नेपाली युवायुवती पठाइरहेको अवस्था छ । दुई महिनाअघि मात्रै एक जना एजेन्टलाई साढे ८ लाख रुपैयाँ बुझाएर विद्यार्थी भिसामा युक्रेन पुगेका भक्तपुरका भुवनेश शर्मा अहिले युक्रेन–रोमानिया बोर्डरको मोल्डोभामा बस्छन् ।

उनी सहरमा डेलिभरी ब्वाईका रूपमा अर्डरअनुसार फास्ट फुड ओसारपसारको काम गर्छन् । ‘यही सानो सहरमा मात्रै हामी १५ जना नेपाली डेलिभरीको काम गर्छौं, यहाँ आएर जसले जति फूर्ति दिए पनि हामी कोही पनि विद्यार्थी बनेर पढ्न आएका होइनौं,’ उनले फोनमा भने, ‘अध्यागमनले छापा मार्ने बेलामा कलेजमा हाजिर गर्न जान्छौं, अरू बेला डेलिभरी काम गर्छौं ।’ उनका अनुसार युक्रेनमा युद्ध सुरु भयो भनेर जसरी समाचारमा आएको छ, त्यस्तो अवस्था छैन । दोनेत्सक र लुहान्स्क पुग्न मोल्डोभाबाट कम्तीमा दुई दिन लाग्छ । मौका मिले युरोपका अरू मुलुक छिर्ने वा नसके युक्रेनमै मासिक बढीमा डेढ लाख रुपैयाँ कमाइ गरेर केही वर्ष बस्ने सोचाइमा धेरै जना रहेको उनले सुनाए ।

शक्ति राष्ट्रहरू रुसी कदमको विरोधमा, चीन तटस्थ

वैदेशिक रोजगार विभागको २०७७/७८ को तथ्यांकअनुसार व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गत वर्ष युक्रेन जानेमा ४७ पुरुष र ६ जना महिला रहेका छन् । तर संस्थागत रूपमा स्वीकृति लिएर जानेको संख्या भने शून्य छ । युक्रेनबाट सीमावर्ती रोमानिया, हंगेरी, स्लोभाकिया, पोल्यान्ड हुँदै मध्य युरोपमा जाने ‘मानव तस्करी रुट’ प्रचलित छ ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.