
चितवन — ११ फागुन २०७८
चितवन , चार महिनायता चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा बाघले एकसिंगे गैंडाका ४ वटा बच्चा (केटो) मारिसकेको छ । अर्कोतर्फ भाले गैंडाहरू भासमा परेर मर्ने क्रमसमेत बढ्दै गएको छ । गत साउनयता २७ गैंडा मरेकामा भासमा परेर मर्नेको संख्या ६ रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत मंसिर ४ मा निकुञ्जको घटगाइँ क्षेत्रमा गैंडाको अन्दाजी डेढ वर्षको भाले बच्चा मृत भेटियो । त्यसलाई बाघले मारेको हो । त्यसपछि माघ २४ मा बाघमारा पोस्टनजिक काभ्रे तालमा एक वर्षको र त्यसको ५ दिनपछि सौराहा ढुङ्ग्रेखोलामा ४ महिनाको गैंडा बाघकै आक्रमणमा परेर मरेको भेटियो । फागुन ४ मा शिशुवार मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले मारेको आन्दाजी ४ महिनाकै अर्को गैंडा भेटिएको तिवारीले जानकारी दिए । गत साउन ३ मा राप्ती नदी किनारको जोतुवाघाट क्षेत्रमा गैंडाको अन्दाजी २ महिनाको भाले बच्चा मृत भेटिएको थियो । उक्त गैंडालाई पनि बाघले मारेको हो । बाघका कारण गैंडालाई चुनौती थपिएको यी घटनाले देखाउँछ ।
गैंडा मर्ने प्रमुख कारणमा पछिल्लो पटक घोल र सिमसार क्षेत्रका भास पनि अग्रपंक्तिमा छ । गत साउन ३ मा निकुञ्जको टेम्पल टाइगर क्षेत्रमा ३५ वर्षको भाले गैंडा मृत भेटिएको थियो । त्यो गैंडा दलदलमा भासिएर मरेको तिवारीको भनाइ छ । त्यसैगरी, भदौ ७ मा कोलकाता टापुको सिमसारमा डुबेर ८ वर्षको भाले गैंडा र कात्तिक २२ मा लामीतालमा अन्दाजी डेढ वर्षको भाले गैंडा पनि डुबेर मरेको छ । मंसिर ३ मा बरदाह मध्यवर्ती सामुदायिक वनको सिमसारमा डुबेर अन्दाजी ६ वर्षको भाले गैंडा मरेको थियो । पुस १ मा टाइगर टप्स बूढीराप्ती क्षेत्रमा सिमसारमा भासिएर अन्दाजी १८ वर्षको अर्को भाले गैंडा मरेको थियो । भासमा परेर मर्नेमा एउटा मात्रै पोथी गैंडा रहेको निकुञ्जको तथ्यांक छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य आहाल बस्न वा पानी खान सिमसार र घोलमा गैंडाहरू भेला हुने र त्यो बेला भालेहरू सामुन्ने परेर जुध्ने बताउँछन् । ‘घोलको आडमा जुध्दा हारेको गैंडा अप्रत्याशित रूपमा दौडँदा मेसो नपाएर भासिने र डुब्ने गरेको हुनुपर्छ,’ आचार्यले भने । गैंडाहरू जुधेर मर्ने पुरानो समस्या हो । जुन यो वर्ष पनि कायमै छ ।
गत वर्ष चैतमा सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार नेपालमा ७ सय ५२ र चितवन निकुञ्जमा मात्रै ६ सय ९४ गैंडा छन् । गैंडाको संख्या बढ्दा एकै ठाउँ धेरै जमघट हुने र जुध्ने, दौडने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । निकुञ्जको सुदूरपूर्व र सुदूरपश्चिममा निकै थोरै गैंडा छन् । कसराबाट पश्चिम लागेपछि ४ सय १० वटा गैंडा भेटिएका थिए । यो वर्ष २७ गैंडामध्ये १५ वटा यही क्षेत्रमा मरेका हुन् । बासस्थल सुधार, आन्तरिक स्थानान्तरण र मान्छेको चापलाई व्यवस्थापन गरे जुधेर मर्ने घटना कम हुन सक्ने आचार्यको भनाइ छ । पश्चिमका गैंडा निकुञ्जको पूर्वी क्षेत्रमा सार्ने चर्चा चल्दै आए पनि ठोस काम भएको छैन ।
( कान्तिपुर दैनिक )
