
काठमाडौँ — १० फागुन २०७८
काठमाडौँ , अमेरिकी अनुदानसम्बन्धी परियोजना एमसीसीकै कारण गठबन्धन भत्किन नदिन भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दौडधुप थालेका छन् । उनले सोमबार सत्तारूढ दुई दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर गठबन्धन जोगाउँदै एमसीसी अनुमोदनमा भूमिका खेल्न आग्रह गरे । पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि अन्य दलका नेतासँग भेटघाट सुरु गरेका हुन् । ‘गठबन्धन बचोस् र एमसीसीले पनि पार पाओस् भनेर मैले नेताहरूसँग भेटघाट गरेको हुँ,’ उनले कान्तिपुरसँग भने, ‘मुलुक अप्ठेरोतिर जाँदै छ, यसले हाम्रो पुस्तालाई असफल बनाउँछ । सबै मिलेर देशलाई संकटबाट मुक्त गरौं भन्ने मैले आग्रह गरें ।’ पौडेलले दाहाल र यादवलाई एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था देखिएकाले त्यसतर्फ गम्भीर बन्न आग्रह गरेका थिए । पौडेलको बुझाइमा प्रधानमन्त्री देउवा गठबन्धन भत्काएर भए पनि एमसीसी अनुमोदन गर्ने तयारीमा छन् ।
उनले पार्टी नेताहरूलाई एमसीसीको पक्षमा भोट नहाल्ने दलसँग सहकार्य गर्न नसकिने बताउन थालेका छन् । ‘उहाँ (देउवा) बरु गठबन्धन भत्किए भत्कियोस् भन्ने अवस्थामा पुग्नुभएको छ,’ पौडेलले भने, ‘मेरो प्रयास गठबन्धन जोगाएर एमसीसी कसरी पास गर्न सकिन्छ भन्ने हो ।’ सत्ता सहयात्री प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आफूसँगको भेटमा अध्यक्ष दाहालले गठबन्धनभित्र सहमति कायम गरेरै संकट समाधान गर्ने प्रतिबद्धता जनाएको पौडेलले बताए । ‘उहाँले कुरा त राम्रै गर्नुभएको छ, मेरो कुरासँग सहमत हुनुहुन्छ तर व्यवहारमा के गनुहुन्छ थाहा छैन,’ उनले भने । पौडेलसँगको भेटपछि दाहालले गठबन्धन नटुट्ने बताएका छन् । ‘उहाँले गठबन्धन पनि बचाउनुपर्छ, एमसीसीलाई पनि टुंगोमा पुर्याउनु पर्यो भन्ने लाइनबाट कुरा राख्नुभएको थियो,’ दाहालले सञ्चारकर्मीसँग भने, ‘मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भनें ।’
संसद्मा रहेका महामन्त्री गगन थापा, शशांक कोइराला, मीनेन्द्र रिजाललगायत नेता भने गठबन्धन भत्काएर भए पनि एमसीसीलाई छिटो निकास दिनुपर्ने पक्षमा छन् । सत्तामा पनि बस्ने र सरकारको निर्णयविरुद्ध अभिमत पनि राख्ने चरित्र गलत भएको उनीहरूको भनाइ छ । महामन्त्री थापाले आइतबार संसद्मा एमसीसी टेबल भएपछि अब सत्ता साझेदार कुनै पनि दलले ‘डबल स्ट्यान्ड’ लिन नहुने बताएका थिए । कांग्रेसमा एमसीसीको सवालमा मात्र होइन, आसन्न निर्वाचनमा पनि गठबन्धनबीच समीकरण गर्ने कि एक्लै लड्ने भन्नेमा दुईथरी मत छ । वरिष्ठ नेता पौडेल गठबन्धन दलबीच चुनावी समीकरण गर्नुपर्छ भन्ने पक्षको नेतृत्व गर्छन् । उनले स्थानीय तह निर्वाचन अगाडि गर्दा गठबन्धनमा असर पर्ने भन्दै वैशाख–जेठमा संसदीय निर्वाचन गर्न लबिइङ गरेका थिए तर संवैधानिक व्यवस्थाअनुसार सरकारले वैशाखमा स्थानीय तह निर्वाचन घोषणा गरिसकेको छ । सभापतिमा पराजित शेखर कोइराला समूह भने एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने लाइनमा अडिग छ । गत साता भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कोइरालाले पाँचबुँदे धारणा राख्दै तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका थिए ।
( कान्तिपुर दैनिक )
